एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठक बुटबलमा बस्दै
भाद्र १, २०८१ | बुटवल
नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठक शनिबार बुटवलमा बस्ने भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यले दलको बैठक बोलाउनु भएको हो । संसदीय दलका नेता लीला गिरीले राजीनामा दिएपछि पहिलो पटक बैठक बस्न लागेको हो ।
प्रदेश सभा सदस्यहरुका अनुसार शनिबार दिउँसो २ बजेका लागि बैठक बोलाईएको छ । बैठक मुख्यमन्त्री आचार्यको बुटवलस्थित सम्पर्क कार्यालयमा बस्न लागेको हो । प्रदेश सभा सदस्यहरुका अनुसार बैठकको एजेण्डाको विषयमा जानकारी नदिएको भएपनि मुख्यमन्त्रीले विश्वासको मत लिने र दलको नेता परिवर्तनको विषयमा छलफल गर्ने तयारी छ ।
लुम्बिनीका मुख्यमन्त्री आचार्यले मंगलबार विश्वासको मत लिने तयारी गर्नु भएको छ । विश्वासको मत प्रयोजनका लागि प्रदेश सभाको बैठक आह्वान भईसकेको छ । विश्वासको मत अघि नै दलको नेता टुंगो लगाएर दलको तर्पmबाट विश्वासको मतका लागि ह्वीप जारी गर्नुपर्ने भएकाले बैठक आह्वान भएको र सम्भवत शनिबारको बैठकबाट दलको नेता परिवर्तन हुन सक्ने एक प्रदेश सभा सदस्यले बताए ।
शनिबारको बैठक दलका उपनेता आचार्यकै अध्यक्षतामा बस्नेछ । बैठकमा पार्टी लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्याल पनि उपस्थित हुने नेताहरुले जनाएका छन् । अर्याल शनिबार बिहान बुटवल आउँदै हुनुहुन्छ ।
लुम्बिनी प्रदेश सभाका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले भने शनिबारको दलको बैठकमा मुख्यमन्त्रीले मंगलबार लिने विश्वासको मत मात्र ऐजेण्डा रहेको बताउनुभयो । उहाँका अनुसार दल नेताले यसअघि दिएको राजीनामाको विषयमा छलफल हुने र त्यसपछि सम्भवतः दल नेता लीला गिरीकै अध्यक्षतामा बैठक सञ्चालन हुनेछ ।
एमाले संसदीय दलका नेता गिरीले आफूलाई अहिलेसम्म राजीनामा स्वीकृत वा अस्वीकृतको विषय र बैठकको बारेमा कुनै जानकारी नभएको बताउनुभयो । ‘मलाई अहिलेसम्म त्यस्तो कुनै जानकारी आएको छैन्,’ उहाँले भन्नुभयो, ‘पहिला पार्टी नेतृत्वबाट केही जानकारी आउला त्यसपछि के गर्ने भन्ने सोंच्ने छु ।’ शनिबारको बैठकमा उपस्थित हुने÷नहुने भन्ने विषय राजीनामापछि मात्र निर्णय लिने उहाँले बताउनुभयो ।
लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ गरी ५६ जना सांसदको समर्थनमा आचार्य गत साउन ७ गते मुख्यमन्त्री नियुक्त हुनु भएको थियो । गिरी दलका नेता रहेकै अवस्थामा केन्द्रीय नेतृत्वबाट आचार्यलाई मुख्यमन्त्रीमा अघि सारिएपछि गिरीले दल नेताबाट राजीनामा दिनु भएको थियो ।
कांग्रेसभित्र मन्त्री छनोटको किचलो र एमालेभित्र दलका नेताको विवादले मुख्यमन्त्रीले विश्वासको मत लिन सकेका छैनन् । सरकारलाई पूर्णता दिएर मात्र विश्वासको मत लिने तयारी गर्नु भएका मुख्यमन्त्री आचार्यले कांग्रेस भित्रको विवाद तत्काल समाधान हुने नदेखेपछि मंगलबार विश्वासको मत लिने तयारी गर्नु भएको हो ।
अहिले मुख्यमन्त्रीसहित लुम्बिनीमा एमालेका ५ र कांग्रेसका ४ मन्त्री छन् । कांग्रेसले थप एक मन्त्री सिफारिस गर्न बा“की छ । १२ मन्त्रालय रहेको लुम्बिनीमा २ मन्त्रालय साना दलका लागि राखिएको छ । तर, सरकारलाई समर्थन गरेका लोसपा, जसपा र नागरिक उन्मुक्ति तीनवटै दलले मन्त्रालयमा दाबी गरेको र दुई दललाई मात्र रहेकाले एमाले कांग्रेस अप्ठ्यारोमा छन् ।
स्रोतका अनुसार लोसपा र जसपालाई एक÷एक मन्त्रालय दिएर नागरिक उन्मुक्तिलाई राज्यमन्त्री वा अन्य नियुक्तिमा मिलाउने प्रयास दुई ठूला दलले गरेका छन् । लुम्बिनीमा सरकारलाई समर्थन गर्ने दलबाट नागरिक उन्मुक्ति पार्टीका ४, जनमत ३, लोसपा ३, जसपा २, जसपा नेपाल १ जना प्रदेश सभा सदस्य छन् । त्यस्तै प्रतिपक्षमा रहेका माओवादीका १०, राप्रपाका ४, नेकपा एकीकृत समाजवादी, जनमोर्चा र स्वतन्त्र एक÷एक प्रदेश सभा सदस्य छन् ।