तीन वटा कसुरमा रवि लामिछानेसहित थप ३१ जनाविरुद्ध मुद्धा दायर

पुस ७, २०८१

कास्कीस्थित सूर्यदर्शन सहकारीको बचत हिनामिना प्रकरणमा पूरक अनुसन्धान सकिएलगत्तै सरकारी वकिलको कार्यालयले तीन वटा कसुर गरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वमन्त्री रवि लामिछानेसहित थप ३१ जनाविरुद्ध मुद्धा दायर गरेको छ । कास्की जिल्ला अदालतमा दायर भएको मुद्दामा समग्रमा लामिछाने, गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक जीबी राई, तत्कालीन प्रबन्ध निर्देशक छविलाल जोशी सहित ६३ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरुलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणसहितमा मुद्धा दायर भएको हो ।

गत कात्तिक २ गते काठमाडौंस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको मुख्यालयबाट पक्राउ परेका पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने लगायत ५ दर्जन भन्दा बढी व्यक्तिमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणमा मुद्धा दायर भएको छ । सो सहकारी ठगीमा यसअघि १९ जनाविरुद्ध मुद्धा विचाराधिन रहेकोमा लामिछानेसहित थप ४४ जनाविरुद्ध मुद्धा दायर भएको हो । कास्की जिल्ला सरकारी वकिल कार्यालयकी सूचना अधिकारी शान्तिदेवी शर्माले पुरक अभियोग पत्रसहित ६३ जनाविरुद्ध मुद्धा दायर भएको जानकारी दिनुभयो ।

सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा रास्वपा सभापति लामिछानेविरूद्ध मात्रै ३ करोड ३७ लाखको बिगो मागदाबी भएको छ भने झन्डै २८ करोड रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको आरोप लगाइएको छ । त्यस्तै, जीबी राईमाथि एक अर्ब ८६ करोड ७३ लाख १९ हजार ५ सय ८ रुपैयाँ बिगो दाबी गरिएको छ । अर्का प्रतिवादी छविलाल जोशीमाथि ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँ बिगो दाबी गरिएको सूचना अधिकारी शर्माले जानकारी दिनुभयो । त्यस्तै, रामबहादुर खनालमाथि १४ करोड ३० लाख ९१ हजार ९ सय ११ रुपैयाँ र लिला पछाईमाथि २४ करोड ६७ लाख ७ हजार ३४ रुपैयाँ बिगो दाबी गरिएको छ । सम्पत्ति शुद्धिकरणमा उनी चार जनाविरुद्ध मुद्धा दायर भएको सरकारी वकिल कार्यालयकी सूचना अधिकारी शर्माले जानकारी दिनुभयो । यसैबीच, लामिछानेकी श्रीमति निकिता पौडेलसहित पाँच जनालाई उनीहरूको केही सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ । पद्मा बन्जाडे, रोचक जोशी, राधा पछाईं र गीता पछाईंको सम्पत्ति जफत गर्नुपर्ने माग दाबी गरिएको छ । कानूनका जानकारहरुका अनुसार कसुरमा संलग्न नभएको असम्बन्धित व्यक्तिको खातामा कसुरबाट आर्जन भएको सम्पत्ति भेटिएमा जफत गर्ने प्रयोजनका भन्दै प्रतिवादी बनाउने व्यवस्था रही आएको छ । कास्की प्रहरीले सहकारी ठगीसहित सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मामिलामा मुद्दा चलाउनु पर्ने सिफारिससहित अघिल्लो साता अनुसन्धान प्रतिवेदन बुझाएको थियो । यसअघि सहकारी ठगीबारे अनुसन्धान गर्न गठित संसदीय छानबिन समितिले सहकारीबाट गोर्खा मिडियामा भित्र्याइएको रकमको हकमा संस्थाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेसहित जिम्मेवार ठहर गर्दै कारबाहीको दायरामा ल्याउन सिफारिस गरेको थियो । लामिछानेले भने आफू सहकारी ठगी लगायत कसुरमा निर्दोष रहेको दावी गर्दै आउनुभएको छ । उहाँको पार्टी रास्वपाले लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान भइरहँदा राज्यले फसाउन खोजेको भन्दै केही दिन आन्दोलन समेत गरेको थियो । 


प्रतिक्रिया