मर्स्याङ्दी नदीमा भएको बस दुर्घटनाका मृतकहरुको शव भारत पठाइयो
भाद्र ८, २०८१ | चितवन
तनहुँको आँबुखैरनी नजिकै मर्स्याङ्दी नदीमा भएको बस दुर्घटनाका मृतकहरुको शव भारत पठाइएको छ ।
मृतक २७ जनामध्ये २५ जनाको शव भारतीय सेनाको विमानमार्फत र २ जनाको शव स्थलमार्ग हुँदै पठाइएको हो । भारतको पश्चिम बंगाल स्थित पानागढबाट चितवनको भरतपुर आएको भारतीय सेनाको विमानमार्फत उनीहरुको शव पठाइएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।
उहाँका अनुसार दुर्घटनामा ज्यान गुमाएका २५ जना महाराष्ट्रको जलगाउँ जिल्लाका भएको पाइएको छ । त्यस्तै मृतक मध्ये चालक र सहचालक भने गोरखपुरका भएको पाइएपछि स्थलमार्ग हुँदै शव पठाइएको छ । दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिन आज नै भारतीय युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खाड्से र महाराष्ट्रका विधायक सञ्जय शुभकरे नेपाल आएका थिए ।
उनीहरु पनि सोही विमान मार्फत स्वदेश फर्किएका छन् । नेपाल घुम्न आएका पर्यटक चढेको भारतीय नम्बर प्लेटको बस पोखराबाट काठमाडौं आउने क्रममा हिजो दुर्घटनामा परेको थियो । यसैबीच, तनहुँको आँबुखैरनीमा हिजो भएको बस दुर्घटनाका घाइतेहरुसँग गृहमन्त्री रमेश लेखक र भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खाड्सेले शिक्षण अस्पतालमा भेट गर्नुभएको छ ।
सो क्रममा गृहमन्त्री लेखकले दुर्घटना लगत्तै नेपाली सेना र नेपाल प्रहरीले तत्काल उद्धार गरेका कारण थप मानवीय क्षति हुन नपाएको बताउनुभयो । सोही क्रममा राज्यमन्त्री खाड्सेले छिटो उद्धार गरेर केही नागरिकको ज्यान बचाउने काम गरेको भन्दै सरकार र उद्धार कार्यमा संलग्न सुरक्षाकर्मीलाई धन्यवाद दिनुभएको छ ।