समानुपातिक निर्वाचन प्रणालीमा संसोधन हुँदैनः मन्त्री गुरुङ

रेडियो कान्तिपुर संवाददाता

आश्विन ५, २०८१ | लमजुङ

नेपाली कंग्रेस र एमालेले गठबन्धन सरकारको साझा न्युनतम कार्यक्रममा संविधान संसोधनको बिषयलाई महत्वका साथ उठाएका बेला सरकारका प्रवक्ताले संविधानका आधारभूत बिषयमा संसोधन हुन नसक्ने बताएका छन् । सञ्चारमन्त्री एवम् नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले संघीयता, धर्मनिरपेक्षता र समानुपातिक प्रणाली जस्ता संविधानका आधारभूत विशेषतामा अहिले कुनै संशोधन नहुने बताउनुभएको हो ।

 लमजुङको बेंसीसहरमा आज पार्टी कार्यक्रममा बोल्दै मन्त्री गुरुङले भन्नुभयो– “आवश्यकता अनुसार राष्ट्रिय सहमतिमा संविधानका केही बुँदाहरुमा संशोधन हुन्छ तर अहिले बाहिर चर्चा गरिएको जस्तो संविधानका मुलभूत विशेषताहरूमै परिवर्तन हुन लागेको होइन ।” उहाँले संघीयता, धर्मनिरपेक्षता र समानुपातिक प्रणालीका विषयमा छलफल नै नहुने बताउनुभयो । मन्त्री गुरुङले जिल्ला समन्वय समिति खारेज गर्न आवश्यक भएको टिप्पणी समेत गर्नुभयो । 


प्रतिक्रिया