संविधानले सबैलाई अधिकार सम्पन्न बनाएको छ : प्रधानमन्त्री ओली

आश्विन ३, २०८१ | काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले सबै नेपालीलाई अधिकार सम्पन्न बनाएको बताउनु भएको छ । संविधान दिवसको अवसरमा आज शुभकामना दिँदै प्रधानमन्त्री ओलीले सबैखाले विचार, समुदाय, भूगोल, लिङ्ग, जाति र धर्मका भावनालाई संविधानले संरक्षण गरेको भन्दै यसको संरक्षण गरे मात्रै हामीले उपभोग गरेका अधिकारको रक्षा हुने बताउनुभयो । 

प्रधानमन्त्री ओलीले दशकौँ लामो सङ्घर्ष र सयौँको बलिदानको फलस्वरूप जनता आफैँले आफ्ना लागि तय गरेको शासन प्रणाली र जनताले चुनेको संविधानसभाले संविधान निर्माण गरेको उल्लेख गर्नुभयो ।

जनताले लामो समयसम्म भोगेको निरङ्कुशता आजको पुस्ताले पनि बिर्सनु नहुने उहाँको भनाई छ । संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने उहाँले जिकिर गर्नुभयो । 

'संविधानले सबैलाई अधिकारसम्पन्न बनाएको छ । सबैखाले विचार, समुदाय, भूगोल, लिङ्ग, जाति र धर्मका भावनालाई यसले संरक्षण गरेको छ । यसको संरक्षण गरेर मात्र हामीले उपभोग गरेका अधिकारको रक्षा हुन सक्छ,' सन्देशमा भनिएको छ, 'जनताले लामो समयसम्म भोगेको निरङ्कुशता आजको पुस्ताले पनि बिर्सनु हुँदैन । यो स्वतन्त्रता गुमेको दिन कस्तो हुन्छ भन्ने सम्झँदा हाम्रो मस्तिष्कमा समाजलाई निरङ्कुशताले नियन्त्रण गरेको दुई दशक अगाडिको चित्र आउँछ ।'


प्रतिक्रिया