मुलुकका अधिकांश स्थानमा वर्षा, ५६ जिल्ला उच्च जोखीममा

आश्विन ११, २०८१ | काठमाडौं

मनसुनी वायु तथा न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाडौं उपत्यका सहित मुलुकका अधिकाश स्थानमा वर्षा भईरहेको छ । यो क्रम आगामी आईतबारसम्म जारी रहने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

कोशी प्रदेशका ११, मधेशका ३, बागमतीका १२, गण्डकीका १०, लुम्बिनीका १२, कर्णालीका ५ र सुदूरपश्चिमका ३ जिल्ला उच्च जोखीममा रहेको महाशाखाले जनाएको हो । यस्तै देशभरका २१ जिल्लालाई मध्यम जोखीममा राखिएको छ । वर्षाको कारण भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ ।

विशेष गरी रातीको समयमा बढी वर्षा हुने भएकाले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको भन्दै आवश्यक सर्तकता अपनाउन सचेत गराईएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च जोखिम रहेका हिमाली तथा पहाडी जिल्लाहरूमा रात्रीकालीन बस नचलाउन आग्रह गरेको छ ।


प्रतिक्रिया