झ्याप्लेखोलामा पहिरोमा पुरिएको बसबाट ५ जनाको शव निकालियो
आश्विन १३, २०८१ | गोरखा
गोरखाको लापुबाट काठमाडौं आउँदै गरेको बस पृथ्वीराजमार्ग अन्तर्गत झ्याप्लेखोलामा पहिरोले पुरिएको अवस्थामा भेटिएको छ ।
शुक्रबार रातीबाट सम्पर्कविहीन बा ४ ख २२७० नम्बरको बसबाट ५ जनाको शव निकालिएको प्रहरीले जनाएको छ ।
बसमा सवार ५ जना मृत भेटिएको पुष्टि भएको गोरखा दरौँदी यातायात सेवा प्रालिका अन्जन खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार बसको चालक दलका तीन जना र दुई जना यात्रु मृत भेटिएका हुन् ।
बसका चालक भीमसेन थापा गाउँपालिका–४ धावाका मदन परियार, चालक दलका अर्का सदस्य धावाका विनय भट्टराई र फुजेलका नवराज तिवारीको शव भेटिएको हो । यस्तै धार्चे गाउँपालिका–७ का सुकवहादुर गुरुङको पनि शव भेटिएको छ । अर्का एक यात्रुको पहिचान खुल्न सकेको छैन ।