दुई दलीय व्यवस्थाका लागि सरकारले अध्यादेश ल्याउन लागेको हो : माधव नेपाल

कार्तिक १२, २०८१ | कास्की

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दुई दलीय व्यवस्थाका लागि सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन लागेको आरोप लगाउनु भएको छ । 

कास्कीमा आयोजित पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले पूर्वाग्रही भएर एमाले नेतृत्वको सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन लागिएको आरोप लगाउनु भएको हो । ‘अध्यादेश अहिले आवश्यकता भन्दा पनि पूर्वाग्रहीका साथ ल्याउन लागिएको हो’, नेपालले भन्नुभयो, ‘ऊ बेला पार्टीभित्रको ठूलो हिस्सा अन्यायमा परेको थियो । जनता सडकमा उत्रिएका थिए । त्यसबेला न्याय चाहिएको थियो । अहिले कुनै बाध्यता छैन । स्थिति छैन । तर, सरकारलाई समाजवादी पार्टी फुटाउनु छ ।’ 

प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसलाई भ्रममा राख्दै एमालेलाई बलियो बनाउन लागेको अध्यक्ष नेपालको भनाइ थियो । उहाँले सरकार जनताको पीडा सम्बोधन र समाधानमा इमानदारीका साथ नलागेको टिप्पणी समेत गर्नुभयो । 

अध्यक्ष नेपालले माओवादी केन्द्रसँग एकताको सम्भावना भएपनि एमालेसंग एकताका लागि कल्पना नै गर्न नसकिने उल्लेख गर्नुभयो । नेपालको राजनीति र मौसम उस्ताउस्तै रहेको भन्दै उहाँले पूर्वानुमान गर्नै नसकिने व्यंग्य गर्नुैभयो । 

अहिलेको सरकार काम गर्ने भन्दा पनि बोल्ने मात्र गरेको उहाँको भनाई छ । ‘जनताको पीडा सम्बोधन र समाधानमा सरकार इमानदारीका साथ लागेन’, पूर्व प्रधानमन्त्री समेत रहेको नेता नेपालले भन्नुभयो, ‘विपद्मा पनि सरकार देखिएन ।’ 

स्थानीय तहको आगामी उपनिर्वाचनमा पनि समाजवादी एक्लै चुनाव लड्ने र यसका लागि उम्मेदवार तयार भएको उहाँले बताउनुभयो । 


प्रतिक्रिया