उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता आज
मंसिर २, २०८१ | काठमाडौं
आसन्न स्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार मनोनयन दर्ता गर्ने समय तोकिएको छ ।
यही मंसिर १६ मा हुने उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको सूची आज साँझ ५ देखि ६ बजेसम्म प्रकाशन गरिनेछ । उम्मेदवारको विरोधमा मंसिर ३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उजुरी दिन सकिने कार्यसूची रहेको आयोगले जनाएको छ ।
मंसिर ५ लाई उम्मेदवारीको नाम फिर्ता लिने समय तोकिएको छ । त्यही दिन अपराह्न उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिनेछ । २०७९ को निर्वाचनपछि रिक्त रहेका नगरपालिका प्रमुख र उपप्रमुख १/१, गाउँपालिका अध्यक्ष २ र उपाध्यक्ष ४ तथा वडाध्यक्ष ३४ जना छान्न उपनिर्वाचन हुँदैछ ।
यही उपनिर्वाचनबाट ओखलढुंगा र कैलालीका जिल्ला समयन्व समिति प्रमुख पनि चयन गरिनेछ । काठमाडौंको कीर्तिपुर नगरपकालिकामा प्रमुख, दैलेख महाबु गाउँपालिकामा अध्यक्ष, मोरङ ग्रामथान गाउँपालिकामा अध्यक्ष पदका लागि निर्वाचन हुँदैछ ।
जाजरकोट नलगाड नगरपालिकामा उपप्रमुख, दोलखा गौरीशंकर गाउँपालिका, रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका, हुम्ला सर्केगाड गाउँपालिका र बाजुरा स्वामीकार्तिक खापर गाउँपालिकामा उपनिर्वाचनबाट उपाध्यक्ष चयन गरिनेछ ।