लेवर परमिट बिना काम गर्ने ३४ नेपाली रुसमा डिपोर्ट

मंसिर २, २०८१ | काठमाडौं

रुसी अदालतले स्थानीय श्रम कार्यालयबाट श्रम इजाजत नलिई काम गर्ने ३४ जना नेपाली विद्यार्थीलाई डिपोर्ट गर्न आदेश दिएको छ । ती विद्यार्थीलाई डिपोर्टेशन सेन्टरमा राखिएको छ । विद्यार्थी भिसामा रुस पुगेका ती विद्यार्थीहरुले विश्वविद्यालयको सहमति र श्रम इजाजत बिना काम गरेको भन्दै डिपोर्ट गर्ने फैसला सुनाइएको हो ।

उनीहरुलाई गत कार्तिक १४ गते रुसी अध्यागमनका अधिकारीहरुले मस्कोको कुजमिन्कीस्थित जुवा खेलाउने कम्पनी वान एक्स वेटबाट पक्राउ गरेको हो । कल सेन्टरमा काम गर्ने तीमध्ये १२ जना महिला विद्यार्थी रहेको जनाइएको छ । पक्राउलगत्तै प्रहरीले स्थानीय अदालतमा पेश गरेको थियो ।

गैरआवासीय नेपाली संघ, रुसका अध्यक्ष केशव तिमल्सिनाका अनुसार ती विद्यार्थीहरुलाई मस्कोबाट ६० किलोमिटर टाढा पर्ने शाखा रवाहस्थित डिपोर्टटेशन सेन्टरमा राखिएको छ । तीन महिनादेखि डेढवर्ष अगाडिसम्म रुस पुगेका उनीहरुलाई नेपाल पठाउने तयारी भइरहेको उहाँले बताउनुभयो । ती नेपालीको विद्यार्थीको हैसियतमा बस्न पाउने भिसा भएपनि काम गर्न नपाउने उहाँको भनाई छ । 


प्रतिक्रिया