मृत्युपश्चात मानव अंग दान गर्ने परिवारलाई सरकारले २ लाख दिने
मंसिर १०, २०८१ | काठमाडौं
मृत्यु पश्चात मानव अंग दान गर्न चाहने दाताका परिवारलाई सरकारले दुई लाख आर्थिक सहयोग गर्ने भएको छ । सरकारले यसअघि मानव अंग दान गर्न चाहने त्यस्ता परिवारलाई १ लाख रुपैयाँ उपलब्ध गराउँदै आएको थियो ।
भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्र मार्फत एक लाख रुपैयाँ प्रदान गर्दै आएकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दाताका परिवारलाई थप १ लाख रुपैयाँ दिने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मृत्यु पश्चात मानव अंग दान गर्न चाहने दाताका परिवारलाई थप एक लाख सहयोग गर्ने निर्णय गर्नु भएको हो ।
मन्त्रालयको आन्तरिक श्रोतबाटै आवश्यक रकम व्यवस्थापन गर्ने गरी निर्णय गरिएको मन्त्री पौडेलले बताउनुभयो । सो निर्णय कार्यान्वयनमा अर्थ मन्त्रालयले आन्तरिक श्रोतबाट व्यवस्थापन गर्ने गरी सहमति दिएको मन्त्रालयले जनाएको छ ।
अंग दानमा सघाउने अस्पताललाई यसअघि दिने गरिएको ५० हजार रुपैयाँमा मन्त्रालयले २५ हजार रुपैयाँ थप गरेर ७५ हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको मन्त्री पौडेलले सचिवालयले जनाएको छ । ‘आफ्नो मृत्यपुपछि अरुको जीवन बचाउन चाहनेलाई प्रोत्साहन गर्न खोजेका हौं,’ मन्त्री पौडेलले भन्नुभयो, ‘एउटाको जीवनपछि अरुको जीवन बचाउने कार्यमा यस निर्णयले व्यापकता पाउने आशा गरेका छौं ।’
देशभर हरेक वर्ष मिर्गौला प्राप्तिका लागि एक हजार र कलेजो प्राप्तिका लागि ५५ जनाले मानव अंग प्रत्यारोपण केन्द्रमा नाम लेखाउने गरेका छन् । विद्यमान कानूनी व्यवस्था अनुसार जीवित रगतको नाता पर्ने बाहेकले अंगदान गर्न पाउँदैनन् । तर, मृत्युपश्चात दान दिने गरी अंगदान गर्न पाउने व्यवस्था छ ।
हाल एक हजार बढी मिर्गौला तथा ५५ जना कलेजोका दाता प्राप्तिको प्रतीक्षामा छन् । भक्तपुरको शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रले देशमा बर्सेनि दुई सय मिर्गौला तथा २० जनाको कलेजो प्रत्यारोपण गर्दै आएको छ । वीर अस्पताल, त्रिवि शिक्षण अस्पतालसँगै केही निजी अस्पतालले समेत अंग प्रत्यारोपण गर्दै आइरहेका छन् ।
हाल नेपालमा मिर्गौला र कलेजो मात्र प्रत्यारोपण गर्ने गरिए पनि अब २ फोक्सो र मुटुका लागि समेत प्रत्यारोपण गर्नेगरी क्षमता विकास गर्ने तयारी स्वास्थ्य मन्त्रालयले गरिरहेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।