सूर्य नेपाल गल्फ टूर २०२४/२५ सिजन आजदेखि
मंसिर १०, २०८१ | काठमाडौं
सूर्य नेपाल गल्फ टूर २०२४/२५ सिजन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । गोकर्ण गल्फ क्लबमा सूर्य नेपाल सेन्ट्रल ओपनसँगै नयाँ सिजन सुरु हुने भएको हो ।
नेपाल गल्फ संघको सहकार्यमा हुन लागेको प्रतियोगिता चार दिनसम्म चल्ने प्रतियोगितामा ३३ जना व्यावसायिक र १२ जना एमेच्योर खेलाडी सहभागी हुनेछन् । शीर्ष २१ प्रो र ६ एमेच्योरले मात्र कट पार गरेर अन्तिम ३६ होल खेल्नेछन् ।
पहिलो दुई दिनको खेलमा ३६ होलपछि कट लागू हुनेछ । प्रतियोगिताको विजेताले १ लाख ५० हजार रुपैयाँ, उपविजेताले १ लाख तथा तेस्रो हुनेले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
गत वर्षको तुलनामा सूर्य नेपाल टूरको पुरस्कार राशिमा ५ प्रतिशतले वृद्धि गरिएको नेपाल प्रोफेसनल गल्फ संघका महासचिव दीपक आचार्यले बताउनुभयो । कट पार गर्ने प्रोले नगद पुरस्कार प्राप्त गर्नेछन् ।
टूर अन्तर्गत यस सिजनमा ८ वटा प्रतियोगिता हुनेछ । कुल पुरस्कार रकम ६७ लाख ३२ हजार रुपैयाँ छ । टूरमा ३ ह्यान्डिक्याप भन्दा कम रहेका एमेच्योरले खेल्न पाउनेछन् ।
गत वर्षको विजेता एमेच्योर सद्भाव आचार्यसहित भुवन नगरकोटी, नीरज तामाङ, धन थापा, सञ्जय लामा, रवि खड्का, तोरण शाही, कुमार कामीबीच तीव्र प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।