धरहरा चढ्न स्वदेशी नागरिकलाई दुई सय रुपैयाँ
मंसिर ९, २०८१ | काठमाडौं
काठमाडौंको सुनधारास्थित धरहरा आजदेखि व्यवस्थित रुपमा सर्वसाधारणका लागि खुला गरिएको छ । यसअघि परीक्षणका रुपमा निःशुल्क खुला गरिएको धरहरा आजदेखि शुल्कसहित सञ्चालनमा ल्याएको हो ।
गत असोज ३ देखि शनिबारसम्म ९० हजारभन्दा बढीले निःशुल्क धरहरा चढेको शहरी विकास मन्त्रालयको तथ्यांक छ । धरहरा चढ्न विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।
धरहरा चढ्न स्वदेशी नागरिकलाई प्रतिव्यक्ति दुई सय रुपैयाँ शुल्क तोकिएको छ । सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय र सार्कबाहेक राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क निर्धारण गर्न सहरी विकास मन्त्रालयले गत बिहीबार मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेस गरेको थियो । सो प्रस्ताव स्वीकृत भएसँगै आजदेखि धरहरा चढ्दा उल्लेखित शुल्क लाग्ने मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म अन्तरिम व्यवस्थाअनुसार धरहरा खुला गरिएको भए पनि अब शुल्क निर्धारण गरेर चलाउन लागिएको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) आयोजनाका निर्देशक प्रकाश अर्यालले बताउनुभयो ।
यस्तै, धरहरामा पार्किङ गर्दा चार पाङ्ग्रेलाई प्रतिघण्टा २० र दुई पाङ्ग्रेलाई १० रुपैयाँ तोकिएको छ । धरहरा परिसरमा प्रवेशका लागि भने ५० रुपैयाँ तोकिएको छ ।
यस्तै, धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघण्टा पाँच हजार, धरहरा परिसरमा व्यावसायिक भिडियो छायांकन गर्न प्रतिघण्टा पाँच हजार र फोटोग्राफीका लागि प्रतिघण्टा एक हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । त्यस्तै धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघन्टा ५ हजार तोकिएको छ ।