चार दिने चीन भ्रमणका लागि प्रधानमन्त्री ओली बेइजिङमा

मंसिर १७, २०८१ | काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने भ्रमणका लागि बेइजिङ पुग्नुभएको छ ।

चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओली हिमालयन एयरलाइन्सको जहाजबाट बेइजिङ जानुभएको हो । चौंथो पटक प्रधानमन्त्रीमा नियुक्त भएको साढे चार महिनापछि ओलीको यो पहिलो औपचारिक विदेश भ्रमण हो । 

प्रधानमन्त्री ओलीलाई बेइजिङस्थित क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ कम्युनिस्ट पार्टीका वैदेशिक मामिला उपमन्त्री सुन बेइदोङले स्वागत गर्नुभएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भोलि चीनका राष्ट्रपति, प्रधानमन्त्री र चिनियाँ कंग्रेसका अध्यक्षसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

प्रधानमन्त्रीको भ्रमणलाई चुस्त बनाउन शिष्टाचार महापाल प्रवीन भट्टराई सहितका केही कूटनीतिज्ञ बेइजिङ पुगिसकेका छन् । प्रधानमन्त्री ओली र समकक्षी छ्याङबीच भोलि हुने वार्तामा दुई मुलुकबीचका एजेन्डाको सम्झौतामा हस्ताक्षर हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 त्यसपछि ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्नुहुने र सोही दिन चिनियाँ जनकंग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग भेट्ने कार्यक्रम रहेको छ । भ्रमणमा सरकारीतर्फ ४६ र निजी क्षेत्रबाट ३२ गरी ७८ सदस्यको सहभागिता छ ।

 भ्रमणका क्रममा पर्सि बुधबार प्रधानमन्त्री ओलीले नेपाली र चिनियाँ व्यापारीको भेलालाई सम्बोधन गर्नुहुनेछ भने केही स्थानको अवलोकन समेत गर्ने कार्यक्रम छ । 

साँझ नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा सहभागी हुनुहुनेछ । त्यही दिन प्रधानमन्त्री ओलीले बेइजिङ पेकिङ विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई समेत सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीकोचीन भ्रमणमा विकास पूर्वाधार, कनेक्टिभिटी ब्यापारलगायतमा सम्झौता गर्ने तयारी भइरहेको समेत परराष्ट्रमन्त्रालयले जानकारी दिएको छ ।प्रधानमन्त्री सहितको प्रतिनिधिमण्डल टोली बिहीबार स्वदेश फर्किने छ ।  


प्रतिक्रिया