बीआरआईका लागि ऋणसम्बन्धि सम्झौता भएको छैनः प्रधानमन्त्री ओली
मंसिर २०, २०८१ | काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले बीआरआईका लागि चीनसँग ऋणसम्वन्धि कुनै सम्झौता नभएको बताउनुभएको छ । चीनको औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएपछि काठमाडौं विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले ऋणको विषय अब उठाउन नपर्ने बताउनुभएको हो ।
गत सोमबार बेईजिङ गएका प्रधानमन्त्री ओली आज दिउँसो स्वदेश फर्किनुभएको हो । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री, मन्त्रीहरू र उच्च पदस्थ अधिकारीहरूले स्वागत गरेका थिए ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङ, समकक्षी चिनियाँ प्रधानमन्त्री ली छ्याङ लगायत चिनियाँ उच्च पदस्थ अधिकारीसँग भेटवार्ता गर्नुभएको थियो । ती भेटहरुमा नेपाललाई लाभ हुने गरी मित्रता अघि बढाउने विषयमा कुराकानी भएको प्रधानमन्त्री ओलीको भनाई छ ।
सञ्चारकर्मीको प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्री ओलीले अब दक्षिणी छिमेकी भारतको समेत भ्रमणको तयारी गर्नुपर्ने बताउनुभयो । आफ्नो चीन भ्रमणलाई अर्को देशसँगको सम्बन्धसँग जोडेर हेर्न नमिल्ने उहाँको भनाइ छ । प्रधानमन्त्रीको रुपमा ओलीको यो तेस्रो चीन भ्रमण थियो ।