परराष्ट्रमन्त्री राणा नेदरल्याण्डस् जानुहुँदै
मंसिर २२, २०८१ | काठमाडौं
जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाईमा सहभागी हुन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज नेदरल्याण्डस् जाँदै हुनुहुन्छ । जलवायु परिवर्तन बारे राज्यको भूमिकाका विषयमा नेदरल्याण्डस्को हेगमा जारी बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री राणा आज दिउँसो त्यसतर्फ जान लाग्नुभएको हो ।
हेगस्थित अन्तर्राष्ट्रिय न्यायलयमा जारी बैठकमा जलवायु परिवर्तनले परेको असर तथा न्यूनिकरणको विकल्पबारे विश्वका झण्डै १ सय मुलुक तथा अन्तर्राष्ट्रिय निकायका प्रतिनिधिले छलफल गर्दैछन् ।
परराष्ट्रमन्त्री राणाले आगामी सोमबार नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको पराष्ट्र मन्त्रालय श्रोतले जनाएको छ । जलवायु परिवर्तन विरुद्धको कदमका लागि विकसित राष्ट्रहरु बढी जिम्मेवार हुनुपर्ने विषयमा नेपालले आफ्नो धारणा राख्ने तयारी गरेको छ ।
जलवायु न्यायको सिद्धान्त स्थापित हुनुपर्ने र जलवायु परिवर्तनबाट प्रभावित राष्ट्रप्रति धनी र विकसित राष्ट्रहरु जिम्मेवार हुनुपर्ने विषयमा नेपालले आफ्नो धारणा राख्ने बताइएको छ ।