इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गरिने

पुस २५, २०८१ | काठमाडौं

सरकारले इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इजाजत पत्र नवीकरण नगरी सञ्चालन भएका स्वास्थ्य संस्थाको अनुगमन गरी नियमानुसार नभएको पाइएमा कारबाही गर्ने जनाएको हो । 

मन्त्रालयले निजी, सहकारी, गैरसरकारी तथा सामुदायिक अस्पताल र स्वास्थ्य संस्थाका नाममा परिपत्र गर्दै इजाजत पत्र नवीकरण गराएर मात्र सञ्चालन गर्न सूचित गरेको हो । कतिपय गैरसरकारी तथा सामुदायिकस्तरबाट सञ्चालित संस्था नवीकरणबिना सञ्चालनमा आएको उजुरीपछि मन्त्रालयले परिपत्र गरेको हो । 

इजाजत नवीकरण नगरेका केही संस्था मापदण्ड अनुसार समेत नचलेको उजुरी आएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य संस्थाहरुले मापदण्ड पालना गरेको सुनिश्चित गर्न अधिकारीहरुलाई निर्देशन समेत दिनुभयो । 

जनस्वास्थ्य सेवा नियमावलीमा इजाजतपत्र नलिई स्वास्थ्य सेवा उपलब्ध गराउन नपाइने व्यवस्था भए पनि कतिपयले नलिएको उजुरी प्राप्त भएकाले नवीकरणका लागि पत्राचार गरेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताउनुभयो । 

इजाजत पत्र नवीकरण नगरी सञ्चालन भएका स्वास्थ्य संस्थाको अनुगमन गरी नियमानुसार नभएको पाएमा कारबाही गरिने उहाँले बताउनुभयो ।


प्रतिक्रिया