राजश्व छलीको ३१ लाख रुपैयाँको इलेक्ट्रिक चुरोट बरामद
पुस २५, २०८१ | बुटवल
राजश्व छलेर नेपालगञ्ज लैजाँदै गरेको इलेक्ट्रिक चुरोट ढुवानी गरिरहेको भेरी ट्रान्सपोर्टको गाडी बुटवलस्थित राजश्व अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको छ । इलेक्ट्रिक चुरोट नेपालगञ्ज हुँदै भारत लैजाने उद्देश्यले तस्करहरुले ट्रान्सपोर्टको गाडी प्रयोग गर्न थालेको देखिएको छ ।
काठमाडौंबाट नेपालगञ्ज जाँदै गरेको भेरी टान्सपोर्टको लु.प्र.३००१ ख ०११४ नम्बरको गाडीमा राजस्व छली गरी ल्याइएको ३१ लाख रुपैयाँको इलेक्ट्रिक चुरोट (भेप) राजस्व अनुसन्धान कार्यालय बुटवलले बरामद गरेको हो । चीनबाट ल्याइएको इलेक्ट्रिक चुरोटलाई काठमाडौं, बुटवलबाट नेपालगञ्ज नाका हुँदै भारतको लैजाने गरिएको अनुसन्धानमा खुलेको छ । गाडीसहित कार्यालयले दुई जनालाई पक्राउ गरी थुनामा राखेको छ ।
भेप ढुवानीमा संलग्न भएको आशंकामा स्याङ्जाको कालिगण्डी गाउँपालिका–५ घर भएका डायमन्ड नेपाल इन्टरनेशनलका प्रतिनिधि रोजन न्यौपाने र बाँके, नेपालगञ्जका सनाउल्लाह अन्सारीलाई पक्राउ गरिएको अनुसन्धान कार्यालयका प्रमुख विवेक घिमिरेले बताउनुभयो । ‘दुवै जनालाई पक्राउ गरेर थप अनुसन्धान सुरु गरेका छौं,’ उहाँले भन्नुभयो, ‘काठमाडौंबाट बुटवल हुँदै नेपालगञ्ज लैजाने र त्यहाँबाट भारत तर्फ लैजाने गरेको देखिन्छ ।’
भारतमा महँगो मूल्यमा बिक्री गर्ने भएकाले अहिले अन्य विभिन्न नाकाबाट नेपालगञ्ज भेप पुर्याउने गरिएको खुलेको छ । गोप्य सूचनाका आधारमा पूर्व–पश्चिम राजमार्गको बुटवलमै चेकजाँच गर्दा भेरी ट्रान्सपोर्टको ट्रकमा २ सय थानका दरले १३ वटा कार्टुनमा २६ पिस प्याक गरिएको फेला परेको कार्यालयले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानमा काठमाडौंबाट खरिद गर्ने डायमन्ड नेपाल इन्टरनेशनलका कर्मचारी रोजन न्यौपाने र खरिद गर्नेमा नेपालगञ्जको तसनीम जनरल स्टोर्स देखिएको छ । खरिद गर्ने स्टोर्सका तर्फबाट सनीउल्लाह अन्सारी पक्राउ परेका छन् । खरिद गर्ने फर्म भने उनको श्रीमतीको नाममा रहेको छ ।
उनीहरु दुई जना पक्राउपछि उनीहरुकै सूचनाको आधारमा मुस्ताङको कोरला नाकाबाट १९ हजार पिस र काठमाडौबाट ८६ हजार पिस भेप पनि राजश्व अनुसन्धान विभाग काठमाडौंको टोलीले पक्राउ गरिसकेको छ । त्यसले पनि ठूलो परिणाममा चीनबाट भेप तस्करी भईरहेको देखिएको अनुसन्धानमा संलग्न अधिकृतहरुले जनाएका छन् ।
देशका विभिन्न नाकाबाट ठूलो परिणामा भेप तस्करी भईरहेको देखिए पनि यसका मुख्य बिक्रीकर्ता र भारतमा खरिद गर्ने व्यापारी फेला परेका छैनन् । अहिले पक्राउ परेका दुवै जनाबाट मुख्य तस्कारको पनि खोजी भईरहेको कार्यालय प्रमुख घिमिरेले बताउनुभयो । ‘अहिले पक्राउ परेका दुवै जना कर्मचारीको रुपमा प्रयोग भएका देखिन्छन्,’ उहाँले भन्नुभयो, ‘मुख्य व्यापारीको पनि खोजी जारी छ ।’ राजशव अनुसन्धानको बुटवल कार्यालय र काठमाण्डौंबाट विभागले पनि अनुसन्धान गरिरहेको घिमिरेको भनाई छ ।
राजश्व अनुसन्धानको बुटवल कार्यालयले २६ सय पिस भेपको ३१ लाख मुल्य कायम गरेर शतप्रतिशत जरिवाना सहित ६२ लाख रुपैंयाँ बिगो बमोजिम धरौटी माग गरिएको कार्यालयका अनुसन्धान अधिकृत राजबहादुर विष्टले जानकारी दिनुभयो । ‘२ हजार ६ सय पिस ल्याउँदा एक सय पिसको मात्र बिल काटिएको देखिन्छ,’ उहाँले भन्नुभयो, ‘त्यसले राजश्व छली प्रष्ट भएको छ, थप अनुसन्धान जारी छ ।’
बरामद भएको बिल अनुसार खरिद मूल्य प्रतिपिस १ हजार ५० रुपैयाँ राखिएको छ । तर, सो भेपको सुरु खरिद मूल्य ८ डलर रहेको र त्यसमा नेपालमा लाग्ने अन्य कुनै पनि चार्ज उल्लेख नरहेको कार्यालयले जनाएको छ ।