सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई १ करोड धरौटीमा छोड्न आदेश

माघ १३, २०८१

रास्वपाका सभापति एवं गोर्खा मिडिया नेटवर्कका पूर्व प्रवन्ध निर्देशक रवि लामिछानेलाई अदालतले १ करोड रुपैंयाँ धरौटी माग गरेको छ । आज भएको प्रतिवादीको वकिलको बहस, जाहेरवाला र सरकारी वकिलको जवाफी बहस सुनेपछि जिल्ला अदालत रूपन्देहीका न्यायाधिश प्रल्हादकुमार योगीले १ करोड रुपैंयाँ धरौटी माग गर्ने आदेश गर्नु भएको हो । बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा संगठित अपराध कसुरमा प्रतिवादी बनाएर माघ ६ गते रूपन्देही जिल्ला अदालतमा मुद्धा दर्ता भएको थियो ।

बुधवार लामिछानेको बयान, विहिवार, शुक्रवार र आईतवार उच्च र जिल्ला सरकारी वकिल कार्यालयका वकिल, जाहेर वालाका वकिल र प्रतिवादीका वकिलको बयान सकिएपछि १ करोड धरौटीमा छोड्ने आदेश आएको अदालतका श्रेस्तेदार यज्ञमूर्ती ज्ञवालीले बताउनुभयो । जिल्ला सरकारी वकिल कार्यालयले माघ ६ मा आइतबार रूपन्देही जिल्ला अदालतमा सुप्रिम सहकारी ठगी र संगठित अपराधमा लामिछानेसहित २२ जनालाई अभियुक्त बनाएर मुद्दा दर्ता भएको थियो । मुद्दामा गीतेन्द्रबाबु (जीबी) राई, लामिछानेसहित २८ जनाबाट ५५ करोड ५९ लाख ८३ हजार ८ सय ४२ रुपैंया“ र लामिछाने, छविलाल जोशी र लक्ष्मीप्रसाद पौडेलबाट १० करोड ९९ लाख थप बिगो र लामिछानेको व्यक्तिगततर्फ २ करोड बिगो दाबी गरिएको छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगीको अनुसन्धानका सिलसिलामा गत कात्तिक २ मा पक्राउ परेका लामिछाने कास्की जिल्ला अदालतबाट ६५ लाख धरौटीमा पुस २५ मा र स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेशले ६० लाख धरौटीमा माघ २ मा रिहा भएका थिए ।


प्रतिक्रिया