६ महिनाको अवधिमा सरकारले देखिने काम गर्न नसकेको सञ्चारमन्त्री गुरुङको भनाइ
माघ २३, २०८१
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले ६ महिनाको अवधिमा गठबन्धन सरकारले देखिने गरी काम गर्न नसकेको बताउनुभएको छ । कंग्रेस एमाले सम्मिलित सरकारको कामकारवाहीलाई लिएर पक्ष–विपक्षमा बहस भइरहँदा सरकारका प्रवक्ता गुरुङले काम गर्न नसकिएको स्वीकार गर्नुभएको हो ।
राष्ट्रिय गौरवका आयोजना पुरा गर्न समस्या भइरहेको मन्त्री गुरुङको भनाइ थियो । निर्धारित समयमा आयोजना सम्पन्न नहुने अवस्था रहेको उहाँले उल्लेख गर्नुभयो ।
अर्को प्रसंगमा मन्त्री गुरुङले निर्वाचन प्रणालीलाई दोष दिएर संविधान संसोधनको बिषय उठाउन नमिल्ने बताउनुभयो । मिश्रित निर्वाचन प्रणालीका कारण राजनीतिक अस्थिरता भएको भन्दै आलोचना हुँदै आएकोमा मन्त्री गुरुङले काम गर्न नसकेको दोष प्रणालीलाई दिन नहुने बताउनुभयो ।
सत्तारुढ एमाले र कंग्रेसका नेताहरुले समानुपातिक निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने आवाज उठाइरहेका बेला एमालेका उपमहासचिव समेत रहेका मन्त्री गुरुङले निर्वाचन प्रणाली परिवर्तनको मुद्धा ठिक नभएको बताउनुभएको हो ।