जनमत पार्टीको केन्द्रीय समितिको बैठक महोत्तरीमा

फाल्गुन २६, २०८१ | महोत्तरी
महोत्तरीको बर्दिबासमा जारी जनमत पार्टीको केन्द्रीय समितिको बैठकमा संगठन सबलीकरण, नौलो गणतन्त्र कार्यान्वयन लगायत ५ एजेण्डामा छलफल सुरु भएको छ ।
हिजोबाट सुरु बैठकमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत, संघीयता कार्यान्वयन, समान विचारधारा भएका पहिचानवादीसँगको एकीकरण लगायत एजेण्डामा छलफल भइरहेको हो ।
संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन नसक्दा मुलुकमा बेथिति, भ्रष्टाचार बढेको भन्दै त्यसलाई संस्थागत गर्न पार्टीको आगामी पहलबारे छलफल चलिरहेको नेताहरुले बताएका छन् ।
पार्टी उपाध्यक्ष अब्दुल खानले बैठकमा पेश गरिएका विभिन्न एजेण्डा पारित गरी आगामी रणनीति तय गर्ने जानकारी दिनुभयो । पछिल्लो समय राजावादीको सक्रियता बढ्नुले संविधान, संघीयतामाथि नै संकट पैदा भएको भन्दै त्यस विषयमा समेत छलफल हुन सक्ने नेताहरुले बताएका छन् ।
यस्तै, मधेश प्रदेश सरकारको नेतृत्व सम्हालेको जनमतले प्रदेश सरकारको प्रभावकारीताका विषयमा समेत समीक्षा हुने बताएका छन् । बैठक बिहान ११ बजेबाट सुरु हुनेछ ।