लुम्बिनी र गण्डकी प्रदेशका मुख्यमन्त्रीको बैठक रानीमहलमा
![](http://radio-assets-api.ekantipur.com/thumb.php?src=http://radio-assets-cdn.ekantipur.com/uploads/source/news/2025/news/NewRanimahalpalpa-1739155913.jpg&w=700&height=600)
माघ २८, २०८१ | पाल्पा
पाल्पाको प्रमुख पर्यटकीयस्थल रानीमहलमा लुम्बिनी र गण्डकी प्रदेशका मुख्यमन्त्रीबीच अन्तरप्रदेश समन्वय बैठक बस्ने भएको छ । बैठक माघ ३० गते बुधबार बस्नेछ । त्यसको तयारीका लागि स्थलगत अवलोकन, मञ्च व्यवस्थापन लगायत अन्य तयारीका काम तीव्रताका साथ अघि बढेको पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेय लगायत प्रदेशका मन्त्री, मुख्य सचिव, सचिवको समेत सहभागितामा अन्तरप्रदेश समन्वय बैठक हुन लागेको हो ।
दुई प्रदेशबीच साझा प्रतिबद्धता घोषणापत्र तयारी समेत भएको छ । तानसेनदेखि १३ किलोमिटर कालीगण्डकी नदी किनारमा रहेको रानीमहलमा हुने दुई प्रदेशको बैठकले समृद्धि र विकासका साझा सरोकारको विषयलाई सम्बोधन गर्ने तयारी छ ।
बैठकले दुवै मुख्यमन्त्रीले साझा प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको लुम्बिनी प्रदेशका कायममुकायम प्रमुख सचिव बाबुराम अधिकारीले जानकारी दिनुभयो । दुवै प्रदेशको आगामी वार्षिक नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा समावेश गर्नेगरी साझा प्रतिबद्धता जारी हुनेछ ।
प्रदेशबाट तर्जुमा हुने र भएका विकास निर्माणका साथै अन्य विषयवस्तुमा सहयोग, समन्वय र सहकार्य गर्न बैठक फलदायी हुने विश्वास छ । दुबै प्रदेशको कर प्रणाली, राजश्व, रोयल्टी, पर्यटन लगायत सम्बन्धमा छलफल गर्दै एकरुपता कायम गर्न समेत बैठक महत्वपूर्ण हुनेछ ।
दुवै प्रदेशको बृहत्तर हित गर्ने सहलगानीमा सञ्चालन हुन सक्ने सम्भावित ठूला आयोजनाको पहिचान गर्न बैठक फलदायी हुने बताइएको छ । मुख्य सचिव अधिकारीका अनुसार यसअघि यस्तै बैठक कणाली र सुदूरपश्चिम प्रदेशसंग लुम्बिनीले गरिसकेको छ ।