आगामी आर्थिक वर्षको बजेट पारित

असार १०, २०८२
प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राखेको विनियोजन विधेयक बजेट पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो । सभामुख देवराज घिमिरेले ’विनियोजन विधेयक २०८२ बहुमतले पारित भएको’ घोषणा गर्नुभएको थियो ।
प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गतको दफावार छलफल सम्पन्न भएसँगै सांसदहरूले राखेका खर्च कटौतीका प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिएका थिए । विभिन्न मन्त्रालयका लागि विनियोजनमा सांसदले खर्च कटौतीको प्रस्ताव राखेका थिए । जुन बहुमतले अस्वीकृत भएका छन् । खर्च कटौतीका प्रस्ताव बहुमतले अस्वीकृत भएपछि विनियोजन विधेयकलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो । अर्थमन्त्री पौडेलले जेठ १५ मा सरकारको आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नु भएको थियो ।