५५ वर्ष पुरानो बाग्मती पुलको मर्मत सुरु

माघ २९, २०८१ | रौतहट

राष्ट्रिय लाइफलाईनको रुपमा रहेको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर–१ स्थित रौतहट–सर्लाही जोड्ने बाग्मती नदीको पुल मर्मतको काम सुरु भएको छ । बाग्मती पुलको पिलर र बिम अर्थात् ‘गिर्डर’बीचको बेरिङ राख्ने पेरिस्टल भत्किएको एक सातापछि चन्द्रनिगाहपुरस्थित सडक डिभिजन कार्यालयले मर्मत थालेको हो । 

५५ वर्ष पुरानो पुलको पूर्वतर्फ ४ र ५ नम्बरको स्परमाथि जडान गरिएको पेरिस्टल भत्किएको छ । सडक डिभिजन कार्यालयका प्रमुख डिभिजनल इन्जिनियर अरुणकुमार लालकर्णले पिलर र बिम (गिर्डर) बीचको पार्टमा रेष्ट गर्ने पेरिस्टल भत्किएकाले मर्मत थालेको बताउनुभयो ।

‘काठमाडौबाट प्राविधिकहरु आएर मर्मतको काम सुरु गरिसकेका छन् । एक साता भित्र मर्मतको काम सकेर सवारी आवतजावत सुरु गर्छौ,’ उहाँले भन्नुभयो, ‘अहिले भत्किएको पेरिस्टललाई मर्मत गर्छौ । यो सेट हुन २४ घण्टा जति लाग्छ ।’

डिभिजनल इन्जिनियर कर्णका अनुसार पेरिस्टल कंक्रिटबाट बनेको हुन्छ । यो भत्किएकै कारण पुलको भाग तल दबेको छ । प्राविधिकहरुले पुलको तल पिलरमा बाँसको टेको बनाएर धमाधम मर्मतको काम सुरु गरेको सडक डिभिजन कार्यालयले जनाएको छ । 

सडक डिभिजनले जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा बाग्मतीबाट दक्षिण तर्फ डाईभर्सन निर्माण गरी सवारी आवागमनको व्यवस्था मिलाएको छ । प्राविधिकहरुले अन्य पिलरको बिम (गिर्डर) को अवस्था हेरेर मर्मत गर्नुपर्ने भए तत्कालै गर्ने योजना बनाएको छ ।

पाँच दशक पुरानो पुल जीर्ण भईसकेको छ । २०२६ सालमा तत्कालीन सोभियत संघको सहयोगमा बाग्मती लगायत पूर्व–पश्चिम राजमार्गका पुलहरु निर्माण गरीएको हो । बाराको पथलैयादेखि धनुषाको ढल्केवरसम्मको पुलको बिमहरु खिया लागेर भाचिने अवस्थामा पुगेको छ ।

राजमार्गका अधिकांश पुलका बिम पुराना भईसकेकोले यसले कुनै पनि बेला जोखिम निम्त्याउन सक्ने देखिएको छ । पुल महाशाखाका अनुसार कमलादेखि बाग्मतीसम्मको ७७ किलोमिटर सडकको ठेक्का भईसकेको छ । यो क्षेत्रमा ७६ वटा पुलहरु पर्ने सडक विभागले जनायो । बाग्मतीदेखि पथलैयासम्मको सडकको ठेक्का आह्वान हुन बाँकी छ ।

पथलैया–ढल्केबर खण्डको करीब ५५ वटा पुलमा बढी समस्या देखिएको महाशाखाले जनाएको छ । राजमार्गका सबै पुल सिंगल छ । यो खण्डको सडक ९ मिटरको छ । पुल भने ५ मिटरको छ । त्यही भएर पुल थप्ने र पुराना पुलको ठाउँमा नयाँ बनाउने प्रक्रिया सुरु भएको महाशाखाले जानकारी दिएको छ ।

राष्ट्रिय राजमार्ग ४ लेनको बनाउने योजना रहेकोले त्यही अनुसारको पुल हुने महाशाखाको भनाई छ । राजमार्गमा यहाँ दैनिक ५ हजार बढी सवारी साधन गुड्छन । पुराना र साँघुरा पुलका कारण सवारी ओहोर दोहोरमा समस्या हुने गरेको छ । सधैं व्यस्त रहने राजमार्गका पुलमा रेलिङ भाचिने, खाल्डो पर्ने जस्ता समस्या छन् ।

रौतहट अन्तर्गत पूर्व–पश्चिम राजमार्गमा १२ वटा साना ठूला पुल छन । राजमार्ग अन्तर्गत बारामा पर्ने बकैया पुल, पसाह पुल, दुधौरा पुल, १ नम्बर पुल, २ नम्बर पुल, ३ नम्बर र रौतहटतर्फ चाँदी, लामाहा, बाग्मती पुल जीर्ण भईसकेका छन् । अहिले पुलको भार बहान क्षमता भन्दा अत्यधिक लोड राखेर सवारी साधन गुड्ने गरेका छन् ।


प्रतिक्रिया