लुम्बिनी र गण्डकी प्रदेशका मुख्यमन्त्रीको बैठक रानीमहलमा बस्दै

माघ ३०, २०८१ | पाल्पा

लुम्बिनी र गण्डकी प्रदेशका मुख्यमन्त्रीबीच अन्तरप्रदेश समन्वय बैठक आज बस्दैछ । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेय लगायत प्रदेशका मन्त्री, मुख्यसचिव, सचिवको समेत सहभागितामा अन्तरप्रदेश समन्वय बैठक हुन लागेको हो । 

सो क्रममा दुई प्रदेशबीच साझा प्रतिबद्धता घोषणापत्र समेत जारी गरिनेछ । पाल्पाको प्रमुख पर्यटकीयस्थल रानीमहलमा हुने अन्तरप्रदेश समन्वय बैठकले समृद्धि र विकासका साझा सरोकारको विषयलाई सम्बोधन गर्ने तयारी छ । 

बैठकमा दुवै मुख्यमन्त्रीले साझा प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको लुम्बिनी प्रदेशका कायममुकायम प्रमुख सचिव बाबुराम अधिकारीले जानकारी दिनुभयो । दुवै प्रदेशको आगामी वार्षिक नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा समावेश गर्नेगरी साझा प्रतिबद्धता जारी हुनेछ । 

प्रदेशबाट तर्जुमा हुने र भएका विकास निर्माणका साथै अन्य विषयवस्तुमा सहयोग, समन्वय र सहकार्य गर्न बैठक फलदायी हुने अधिकारीको भनाई छ । दुबै प्रदेशको कर प्रणाली, राजश्व, रोयल्टी, पर्यटन लगायत सम्बन्धमा छलफल गर्दै एकरुपता कायम गर्न समेत बैठक महत्वपूर्ण हुने उहाँले बताउनुभयो ।

यसैबीच, अन्तरप्रदेश समन्वय बैठकमा सो क्षेत्रको विकास निर्माणमा ध्यान दिन नागरिक समाजका अगुवाले आग्रह गरेका छन् । नागरिक समाजका अगुवाले सामाजिक सञ्जाल र छलफलका क्रममा रानीमहल पाल्पाकै प्रमुख पर्यटकीय गन्तव्यस्थल भए पनि बेवारिसे जस्तै बनेकाले लुम्बिनी र गण्डकी प्रदेश सरकारले यस क्षेत्रको विकासमा ध्यान दिन आग्रह गरेका हुन् । 

पाल्पाली संगम काठमाडौंका पूर्वअध्यक्ष पदमराज न्यौपानेले महलको उत्तरतर्फको भाग मर्मत गर्नुपर्ने, कालीगण्डकी नदीको कटान रोक्ने उपाय अवलम्बन गर्नुपर्ने, दरबार अघिको खोला व्यवस्थित गर्नुपर्ने सुझाव दिनुभयो । 

नदीजन्य पदार्थ नदीकै संरक्षणमा खर्च, पर्यटन व्यवसाय, विकास, कालीगण्डकी करिडोर सडकको उपयोगिता, कालीगण्डकी नदी डाइभर्सन, संस्कृति आदानप्रदानका विषयमा दुई मुख्यमन्त्रीबीचको अन्तरसमन्वय बैठकमा छलफल हुनुपर्ने मानवअधिकारकर्मी भगवान भण्डारीको सुझाव छ ।


प्रतिक्रिया