मधेश प्रदेशमा मापदण्ड विपरित सञ्चालीत १७ अस्पताल बन्द

फाल्गुन ८, २०८१ | धनुषा
मधेसका विभिन्न स्थानमा दर्ता बिना सञ्चालनमा रहेका निजी अस्पताल प्रदेश सरकारले बन्द गराएको छ ।
जनकपुर, वीरगन्ज, बर्दिबास र लालगढमा दर्ताबिनै सञ्चालनमा रहेका त्यस्ता अस्पताललाई बन्द गरेर कानुनी प्रक्रियामा आउन समेत निर्देशन दिइएको प्रदेश सरकारले जनाएको छ । मधेश प्रदेशका स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरका अनुसार सरकारी मापदण्ड पुरा नगरेका जनकपुरका १५ वटा नीजि अस्पतालमा तालाबन्दी गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह आफै जनकपुरका ४० निजी अस्पतालको छड्के अनुगमनमा रहनुभएको थियो ।
सो क्रममा १५ वटा अस्पताल मापदण्ड विपरित चलिरहेको पाइएको छ । जनस्वाथ्य अधिकृत ठाकुरका अनुसार दर्ता नभएका अस्पताललाई बन्द गरिएको छ भने नविकरण बिना सञ्चालनमा रहेका अस्पताललाई प्रक्रियामा आउन भनिएको छ । मापदण्ड विपरीत कुनैपनि स्वाथ्य उपचार केन्द्र सञ्चालन गर्न नदिने प्रदेश सरकारले जनाएको छ । यसैबीच, मुख्यमन्त्री सिंहले हिजो मात्रै वीरगन्जका ७ वटा नीजि अस्पतालको छड्के निरिक्षण गर्नुभएको छ ।
जसमध्ये दर्ता बिना नै सञ्चालनमा रहेको नेपाल इण्डो हस्पिटल एण्ड आई सेन्टरलाई बन्द गरिएको जनस्वास्थ्य अधिकृत ठाकुरले बताउनुभयो । यस्तै, प्रदेश सरकारले महोत्तरीको बर्दिवास र धनुषाको लालगढका रहेका नीजि अस्पतालको पनि छड्के अनुगमन गरेको छ । लालगढमा रहेका दुई नीजि अस्पतालमध्ये लालगढ हेल्थ केयरको दर्ता नरहेको तथा बर्दिवासस्थित सिटि केयर अस्पतालले नविकरण नगराएको फेला परेको ठाकुरले जानकारी दिनुभयो ।