मुख्यमन्त्री सिंहको निर्देशनमा बर्दिबासका ५ अस्पताल बन्द

फाल्गुन १७, २०८१ | महोत्तरी
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनमा महोत्तरीको बर्दिबासका ५ अस्पताल बन्द भएका छन् ।
अनुगमनमा अबैध देखिएको भन्दै मुख्यमन्त्रीले अस्पताल बन्द गर्न निर्देशन दिएपछि अस्पताल आजबाट बन्द भएका हुन् । बर्दिवास १ स्थित बजार क्षेत्रमा संचालित पिनाकल हस्पिटल,ऊँ समाज डेन्टल क्लिनिक, खर्गा डेन्टल केयर सेन्टर, सुरक्षा अर्थोपेडिक एन्ड डेन्टल क्लिनिक प्रालि र खोमुसरा डेन्टल क्लिनिक प्रालिले सेवा संचालन अनुमती नलिएको र कागजपत्र चुस्त नदेखिएको भन्दै मुख्यमन्त्री सिंहले तत्काल अस्पताल बन्द गर्न निर्देशन दिनुभएको थियो ।
मुख्यमन्त्री सिंहले बर्दिबासका आठ अस्पताल अनुगमन गर्दै ५ अस्पताललाई बन्द गर्न निर्देशन दिनुभएको हो । बन्द भएका अस्पताललाई कानुनी प्रक्रिया पूरा गरी अनुमति लिएर मात्र सञ्चालन गर्न निर्देशन दिइएको छ। त्यस्तै, सेवा अनुमतिपत्र नवीकरण गर्न सिंहले निर्देशन दिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।