माओवादी केन्द्रको एक महिने अभियान स्थगित

फाल्गुन २४, २०८१ | काठमाडौं

माओवादी केन्द्रको जनतासँग माओवादी तराईमधेस जागरण अभियान आजदेखि अनिश्चित कालको लागि स्थगित भएको छ । गत फागुन १२ देखि कोशी प्रदेशको झापाबाट सुरु भएको सो अभियान आज १३ ओैं दिनमा पुगेर स्थगित भएको हो ।

संसद्को कामकारबाहीलाई प्रभावकारी बनाउन, संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणालीविरुद्ध भइरहेका गतिविधिको प्रतिवाद गर्न भन्दै सो अभियान स्थगित गरिएको नेताहरुले जनाएका छन् । झापाको कचनकबलदेखि सुरु भएको अभियान रौतहट पुगेर स्थगित भएको माओवादीका बारा अध्यक्ष अनिल श्रेष्ठले जानकारी दिनुभयो ।

आज रौतहतबाट सिम्रौनगढ ८ कचोर्वामा सहिद लालु यादवको परिवार भेट्दै कोण सभा लगायतका कार्यक्रम तय थियो । केन्द्रमा राजनीतिक उतारचढावको कारणले रौतहटबाट कार्यक्रम स्थगित भएको बाराका अर्का नेता लालकिरण चौलागाईंले बताउनुभयो ।

सम्भवतः होलिपछि बारादेखि अभियानलाई फेरि निरन्तरता दिइने सम्भावना रहेको उहाँले बताउनुभयो । पुर्वको झापादेखि पश्चिम कञ्चनपुरसम्मको जागरण अभियान तय रहेकोमा कोशी प्रदेश र मधेसको ८ जिल्लामध्ये ६ जिल्ला पुगेर अभियान स्थगित भएको हो । मधेस प्रदेशको बारा र पर्सामा क्रमशः फागुन २४÷२५ र २६ गते कार्यक्रम थियो ।


प्रतिक्रिया