राजतन्त्र पुर्नस्थापनाको पक्षमा काठमाण्डौंमा प्रदर्शन

फाल्गुन २५, २०८१ | काठमाडौं
संघीय राजधानीको काठमाडौंमा हजारौं नागरिकले राजतन्त्र पुर्नस्थापनाको पक्षमा प्रदर्शन गरेका छन् । राप्रपा र राप्रपा नेतासहितका दल तथा विभिन्न संघसंस्थाको आव्हानमा ठूलो संख्यामा भेला भएका नागरिकले पोखराबाट काठमाडौं फर्किएका पूर्व राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्दै राजतन्त्र पुर्नस्थापनाको मागसहित प्रदर्शन गरेका हुन् । पोखरासहितका केही स्थानमा धार्मिक कार्यक्रम सकेर काठमाडौं फर्किएका पूर्व राजा शाहलाई स्वागत गर्न राप्रपा र राप्रपा नेपालका शीर्ष नेताहरु पुगेका थिए ।
पूर्व राजाका समर्थकहरुले विमानस्थलको मूलगेटदेखि र्यालीसहित निर्मल निवाससम्म पु¥याइएको बताएका छन् । राजतन्त्र समर्र्थकहरु राष्ट्रिय झण्डा, फूलमाला र पूर्व राजाको तस्वीर अंकित टिसर्ट, ब्यानर एवम् पम्प्लेटसहित सहभागी भएका थिए । उनीहरुले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विरोध गर्दै प्रमुख दलका नेताहरुको नाम नै लिएर नारावाजी गरेका थिए । राजतन्त्र समर्थकले गरेको आजको प्रदर्शन गणतन्त्र स्थापनापछि अहिलेसम्मकै ठूलो मानिएको छ ।
प्रदर्शनका क्रममा काठमाडौंका विभिन्न स्थानमा सवारी आवागमन दिनभर जसो प्रभावित भएको थियो । स्थानीय प्रशासनले उनीहरुको प्रदर्शनलाई मध्यनजर गर्दै कडा सुरक्षा व्यवस्था मिलाइएको थियो । यसअघि पूर्व राजा शाहलाई पोखरामा साँस्कृतिक झाँकीसहित विदाइ गरिएको थियो । राजतन्त्रको पक्षमा प्रदर्शन गरेका दल र संघसंस्थाले आगामी दिनमा गर्ने कार्यक्रम भने तय गरेका छैनन् ।