प्रतिनिधिसभा बैठक आज पनि बस्दै

चैत्र ४, २०८१ | काठमाडौं
सरकारले सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी विधेयक र सहकारी सम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित गर्ने तयारी गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा ती विधेयक पारित गर्ने कार्यसूची तय भएको संघीय संसद सचिवालयले जनाएको छ ।
प्रनिधिसभाको बिहान ११ बजे बस्ने बैठकमा सरकारले विभिन्न सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी विधेयक र सहकारी सम्बन्धी विधेयक पेश गर्ने कार्यसूची रहेको छ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । त्यसपछि प्रधानमन्त्रीले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।
यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
मन्त्री अधिकारीले ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
सरकारले यसअघि ल्याएका ५ अध्यादेश मध्ये दुई वटालाई प्रतिस्थापन गर्ने विधेयक पारित गर्न लागिएको हो । यही चैत १५ गतेभित्र दुवै सदनबाट प्रतिस्थापन विधेयक पारित गर्ने सरकारको तयारी छ ।