झण्डै ४० नेपाली आज नेपाल आइपुग्ने

जेष्ठ २५, २०८२
अमेरिकाबाट डिपोर्टमा परेका झण्डै ४० नेपाली आज नेपाल आइपुग्ने भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अनुसार डिपोर्टमा परेका अन्य देशका नागरिकलाई छाडेर जहाज नेपाल आइपुग्न लागेको हो । नेपालीहरु रहेको चार्टर विमान अपरान्ह ४ बजेपछि काठमाडौं आइपुग्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनका प्रवक्ता अन्जन न्यौपानेले बताउनुभयो ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको दोस्रो कार्यकाल सम्हालेयता १ सय ४० जना नेपाली यसअघि नै अमेरिकाबाट डिपोर्टमा परिसकेका छन् । गत फागुन तेस्रो साता पनि अमेरिकाले चार्टर विमानमार्फत ८ नेपाली फर्काएको थियो । अमेरिकाले आधिकारिक कागजातबिना बसोबास गरिरहेका आप्रवासीलाई निष्कासन गर्ने अभियान चलाउँदै आएको छ ।