ठगी गर्ने तीन जना पक्राउ

जेष्ठ २६, २०८२

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट परोहा नगरपालिका–८ घर भएका ३५ वर्षीय हरिकृष्ण ठाकुर, नवलपरासी पूर्व कावासोती नगरपालिका–१ घर भएकी ४१ वर्षीया रिना गुरौ र काभ्रेको पाँचखाल नगरपालिका–३ घर भएका ५५ वर्षीय कविराज सिपखान छन् । 

उनीहरुमध्ये हरि कृष्णले कतार पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ, रिनाले पोर्चुगल र कुवेत पठाइदिन्छु भन्दै ३ जना पीडितबाट १८ लाख ५५ हजार र कविराजले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४१ लाख १४ हजार रूपैयाँ लिई सम्पर्कबिहिन भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरुलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया