दलितमाथि ज्यादती घटनाः औरहीका पालिका अध्यक्ष र पूर्ववडाध्यक्ष धरौटीमा रिहा

चैत्र १५, २०८१ | सिरहा

 सिरहाको औरही गाउँपालिका ५ मा महायज्ञका नाममा दलितमाथि भएको ज्यादती घटनामा गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई धरौटीमा रिहा गर्ने आदेश आएको छ । सिरहा जिल्ला अदालतले उनीहरुलाई जनही एक लाख रुपैयाँ धरौटी लिएर छाड्ने आदेश दिएको हो ।

अदालतका न्यायाधीश बिदुर काफ्लेको इजलासले आज प्रहरी हिरासतमा रहेका गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादवसँग जनही एक लाख रुपैयाँ धरौटी लिने र थुनामुक्त गर्ने आदेश दिएको अदालतका शाखा अधिकृत समीर कुलुङले जानकारी दिनुभयो।

अब उनीहरुबाहिरै बसेर मुद्दा लड्न पाउनेछन् । उनीहरुसँगै बजरंजी बाबाविरुद्ध पनि जातीय भेदभाव तथा छुवाछूत सम्बन्धि कसुरमा जिल्ला प्रहरी कार्यालयमा मुद्दा दायर भएको थियो । बजरंजी बाबाको हकमा भने अब कानुन बमोजिम म्याद जारी हुने कुलुङले बताउनुभयो ।

औरही गाउँपालिका ५ मा महायज्ञका नाममा फागुन १० मा अछूत भन्दै महायज्ञस्थलमा रहेको दीपक मल्लिकको घर उनीहरूले गाउँपालिकाको डोजर लगाएर भत्काइदिएका थिए । यो घटना सञ्चारमाध्यममार्फत् सार्वजनिक भएसँगै पालिका अध्यक्ष र पूर्ववडाध्यक्ष चैत ९ गते पक्राउ परेका थिए ।

जातीय भेदभाव तथा छुवाछूत सम्बन्धि कसुरमा ३ महिनादेखि ३ वर्षसम्म कैद हुने र ५० हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।


प्रतिक्रिया