सञ्चारगृहमा आक्रमण गर्नेलाई कारबाही गर्न माग

चैत्र १८, २०८१ | पाल्पा

राजावादी समूहको प्रदर्शनका क्रममा सञ्चारकर्मी तथा सञ्चार गृहमा भएको आक्रमण गर्ने सबैलाई कारबाही गर्न नेपाल पत्रकार महासंघ पाल्पाले माग गरेको छ । 

क्षति पुर्‍याइएका सञ्चार गृह र सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचार गर्न नेपाल पत्रकार महासंघ पाल्पाले जिल्ला प्रशासन कार्यालय पाल्पा मार्फत् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापन पत्र पठाएको छ ।

पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष कमलराज तिमिल्सेनाले प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी मार्फत् ज्ञापनपत्र सोमबार बुझाउनु भएको हो । 

यही चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा अराजक समूहले कान्तिपुर टेलिभिजनको भवनमा ढुंगा प्रहार गरी क्षति पुर्‍याएको थियो भने अन्नपूर्ण पोष्ट दैनिकको कार्यालय भवनको भूँइतलामा आगो लगाउनुको साथै ढुंगामुढा गरी क्षति पुर्‍याएको थियो ।

भिडियो खिच्ने क्रममा पत्रकार सुरेश रजकको आगोमा जलेर ज्यान गएको थियो भने हिमालय टेलिभिजनको सवारी साधनमा तोडफोट गरी क्षति पुर्‍याएको छ । 

पत्रकार दिनेश गौतममाथि आक्रमण गरी खुट्टा भाँचिएको छ भने फोटो पत्रकार निराज तामाङ्को म्यामेरा हराएको लगायत घटनाप्रति नेपाल पत्रकार महासंघ गम्भीर भएको जनाएको छ । 

प्रमुख जिल्ला अधिकारी मार्फत् बुझाएको ज्ञापनपत्रमा ज्यान गुमाएका पत्रकारकारको हत्याबारे गहिरो अनुसन्धान गरी हत्यामा संलग्न सबैलाई फौजदारी अभियोगमा कारवाही गर्न तथा परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गरिएको छ । 

साथै सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि आक्रमण गर्ने सबैलाई कानूनी कठघरामा ल्याउन तथा क्षति पुर्‍याएका सञ्चारगृह र सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचारको प्रबन्ध मिलाउन माग गरिएको छ । 


प्रतिक्रिया