दाउन्नेमा थप १५ दिन सवारी आवागमन रोकेर सडक मर्मत गरिने

वैशाख १६, २०८२ | नवलपरासी
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पूर्वको दाउन्ने क्षेत्रमा थप १५ दिन सवारी आवागमन रोकेर सडक मर्मत तथा विस्तार गरिने भएको छ । सडक विस्तारका लागि यही बैशाख ३१ गतेसम्म सवारी आवागमन बन्द गरेर काम गरिने भएको हो ।
सडक विभागले सूचना जारी गर्दै शैशाख ३१ गतेसम्म रातिको ११ बजेदेखि बिहान ५ बजेसम्म दैनिक ६ घन्टा दाउन्ने क्षेत्रमा यातायात रोकेर काम गरिने जनाएको छ । नवलरासी पूर्वका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले दाउन्ने खण्डमा निर्माणकार्य थप केही दिन निरन्तर रहने भएकाले बैशाख ३१ गतेसम्म रातिको समयमा दैनिक ६ घन्टा सवारी आवागमन बन्द गरिने बताउनुभयो ।
दाउन्ने खण्डमा आवश्यक सडक मर्मत सम्भार र निर्माणकार्य गर्नेगरी रातको समयमा सवारी साधन सञ्चालन रोकी निर्माणकार्यलाई अहिले तीव्रता दिइएको उहाँले जानकारी दिनुभयो ।
पाण्डेका अनुसार दाउन्ने खण्डमा भित्तातर्फ कटिङ गर्न बाँकी रहेकोले वर्षा अगावै सम्पन्न गर्न थप केही दिन सवारी आवागमन बन्द गरेर काम गर्ने निर्णय गरिएको हो । ’दाउन्ने खण्डमा आवश्यक सडक मर्मतसम्भार र निर्माणकार्य गर्नेगरी रातको समयमा सवारीसाधन सञ्चालन रोकी निर्माणकार्यलाई अहिले तीव्रता दिइएको छ,’ उहाँले भन्नुभयो, ‘सो खण्डमा भित्तातर्फ कटिङ गर्न बाँकी रहेको कामलाई वर्षाअगावै सम्पन्न गर्नका निम्ति थप केही दिन आवागमन बन्द गरेर काम गर्ने निर्णय गरिएको छ ।’
यसअघि दाउन्ने खण्डमा गत चैत २७ देखि ३१ गतेसम्म दिनको ११ देखि ३ बजेसम्म र २०८२ बैशाख १ गतेदेखि रातिको ११ देखि बिहान ५ बजेसम्म अत्यावश्यक बाहेकका सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम भइरहेको छ ।
अहिले दाउन्ने खण्डमा पहाड काट्ने, पर्खाल लगाउने र कल्भर्ट निर्माणको काम भइरहेको नारायणगढ–बुटवल सडक विस्तार आयोजना पश्चिम खण्डका सूचना अधिकारी शशांक मिश्रले बताउनुभयो । काम छिटो सम्पन्न गर्न सवारी रोकेर विस्तारको काम गरिँदै आएको मिश्रको भनाई छ ।
सडक बन्द भएको समयमा पूर्वतर्फ मालवाहक सवारीका लागि अरुणखोला–चोरमारा क्षेत्रमा र यात्रुवाहक तथा साना सवारीका लागि दुम्किबास क्षेत्रमा रोक्ने व्यवस्था गरिएको छ । पश्चिमतर्फ बर्दघाट र ज्यामिरे क्षेत्रमा सवारी रोक्नका लागि सडक विभागले आग्रह गरेको छ ।
नारायणगढ–बुटवल सडकको एक सय १४ किलोमिटरअन्तर्गत गैँडाकोटबाट दाउन्नेसम्मको ६५ किलोमिटरमध्ये बजार क्षेत्रमा सर्भिस लेनसहित छ र जोखिम बढी रहेको क्षेत्र मानिने दाउन्नेको १४ किलोमिटर खण्डमा तीन लेनको सडक विस्तारको काम चलिरहेको छ । १
७ अर्ब रुपैयाँ लागतमा सडक निर्माणको ठेक्का पाएको चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेसनले हालसम्म तीन पटक म्याद थपिसकेको छ । निर्धारित समयमा काम सम्पन्न नभएपछि तेस्रो पटक थप भएको म्याद २०८२ साउन ८ गतेसम्म रहेको छ ।