आन्दोलनरत शिक्षक र सरकारबीच सहमति, २९ दिनदेखि जारी आन्दोलन स्थगित

वैशाख १७, २०८२
आन्दोलनरत शिक्षक र सरकारबीच सहमति भएको छ । शिक्षा मन्त्री रघुजी पन्तले शिक्षकहरुको स्वास्थ्य उपचारका सन्दर्भमा काठमाण्डौंस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई उपचार सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने ‘सहमति भएको बताउनुभयो । यस्तै अस्थायी प्रकृतिका सबै खालका शिक्षक र बालविकास सहजकर्ताको बिरामी विदा सञ्चित हुने र सो रकम विद्यालयबाट अलग हुँदा एकमुष्ठ रुपमा प्रदान गर्ने, प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक नेपाल सरकारबाट तोकिए बमोजिम व्यवस्था गर्ने,
आगामी आव २०८२ ०८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीय प्राथमिक द्धितिय, निम्नमाध्यमिक द्धितिय र मावि प्रथम श्रेणीका शिक्षकलाई निजामति सेवाको ग्रेड र रकमको व्यवस्था गर्ने, अस्थायी तथा स्थायी प्रकृतिका शिक्षकलाई प्रचलित कानुन बमोजिम दुर्गम भत्ताको व्यवस्था गर्ने, निजी श्रोथतको शिक्षक तथा कर्मचारीलाई सामाजिक कोषमा आवद्ध गर्न नियमावलीमा व्यवस्था गर्ने, आन्दोलनका क्रममा घाइते भएका सबैको निजामती अस्पतालमा निःशुल्क उपचार गर्ने र निम्न माध्यमिक तह प्राथमिक शिक्षकको तलव तथा ग्रेड माध्यमिक द्धितिय श्रेणीका शिक्षक सरह हुने गरी कायम गर्ने सहमति भएको छ ।
यसैबीच नेपाल शिक्षक महासंघले २९ दिनदेखि जारी शैक्षिक हडताल सहितको काठमाडौंकेन्द्रित आन्दोलन स्थगित गरेको छ । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले विज्ञप्ति जारी गर्दै आन्दोलन स्थगितको निर्णय गरेका हुन् ।