भारत र पाकिस्तान तनावबाट नेपालमा पर्ने प्रभावबारे सर्तक रहन सासंदहरुको सुझाव

वैशाख २४, २०८२ | काठमाडौं
सत्तारुढ दलका सांसदहरुले भारत र पाकिस्तानबीच विकसित पछिल्लो तनावबाट नेपाललाई पार्न सक्ने प्रभावबारे सचेत रहन सरकारलाई आग्रह गरेका छन् । भूराजनीतिक संवेदनशीलता र खुला सीमानाको अवस्थालाई ध्यान दिएर सरकार अघि बढ्नुपर्ने उनीहरुको सुझाव छ । प्रतिनिधिसभा बैठकमा बोल्दै कंग्रेसका सांसद सञ्जयकुमार गौतमले भारत र पाकिस्तानबीच युद्ध शुरू भएको भन्दै यसले नेपाललाई पार्ने अल्पकालीन र दीर्घकालीन प्रभावबारे सरकार सचेत हुनुपर्ने बताउनुभयो ।
पूर्वपरराष्ट्रमन्त्री समेत रहेका नेपाली कंग्रेसका सांसद एनपी साउदले भारत र पाकिस्तानबीचको द्वन्द्वबारे नेपाल सरकार पनि गम्भीर हुन आवश्यक भएको बताउनुभयो । हालै पाकिस्तानी सैनिकको टोलीले गरेको नेपाल भ्रमण उचित नभएको उहाँको भनाइ थियो ।
लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका सांसद सर्वेन्द्रनाथ शुक्लले आतंकवादको सम्बन्धमा नेपाल सरकार प्रष्ट हुन आवश्यक भएको बताउनुभयो । आतंकवाद विरुद्ध सहकार्य गर्नुपर्ने उहाँको भनाइ थियो ।
यसैबीच, भारत र पाकिस्तानबीच तनाव चर्किएपछि सशस्त्र प्रहरी बल नेपाल(एपीएफ) ले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको बताइएको छ । दुई देशबीचको तनावको मौका छोपेर नेपाल–भारत सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठ रोक्नकालागि एपीएफ हाई अलर्टमा बसेको सशस्त्रका एक अधिकारीले जानकारी दिए ।