नेता प्रदीप नेपालको ७१ बर्षको उमेरमा निधन

वैशाख २३, २०८२

नेपाली कम्युनिष्ट आन्दोलनका अगुवा नेता प्रदीप नेपालको ७१ बर्षको उमेरमा निधन भएको छ । थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा आज अपरान्ह नेता नेपालको निधन भएको अस्पताल स्रोतले जनाएको छ । लामो समयदेखि पार्किन्सन्स रोगबाट ग्रसित नेपाललाई केही दिनअघि अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । 

उहाँको आजै अन्तिम संस्कार गर्ने तयारी भएको छ । २०१० साल पुषमा भोजपुर जिल्लाको गोगने गाउँमा जन्मिएका नेता नेपाल युवा अवस्थादेखि नै राजनीतिमा लाग्नुभएको थियो । शुरुमा माले र पछि एमालेमा आवद्ध हुँदै उहाँले पार्टीको संगठन विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । नेता नेपाल विभिन्न समयमा गरी सञ्चारमन्त्री, जलस्रोत मन्त्री र शिक्षा तथा खेलकुद मन्त्री बन्नुभएको थियो । नेपाली साहित्यिक क्षेत्रमा सञ्जय थापाका नामले परिचित उहाँले एक दर्जनभन्दा बढी उपन्यास लेख्नुभएको थियो । 

एक्काइसौँ शताब्दीकी सुम्निमा, “देशको खोजी” “आमाको मन”, “सञ्जय थापाका कथाहरू”, “देउमाईको किनारमा” लगायतका कृति प्रकाशित भएका छन् । एमालेको नवौ महाधिवेशनमा उपाध्यक्षका लागि प्रतिस्पर्धा गरेका नेता नेपाल पछिल्लो समय भने बिरामी भएपछि राजनीतिमा निष्क्रिय हुनुहुन्थ्यो । एमाले विभाजित भएर बनेको एकीकृत समाजवादीमा उहाँलाई सल्लाहकार बनाइएको थियो । 


प्रतिक्रिया