लुम्बिनी प्रदेशसभाको छैटौं अधिवेशन आज सुरु हुँदै

जेष्ठ १, २०८२ | दाङ

लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशन आजदेखि सुरु हुँदैछ । छैठौं अधिवेशनको पहिलो बैठक आज दिउँसो १ बजे दाङको देउखुरीस्थित प्रदेश सभा भवनमा बस्दैछ । 

बुधबार बस्ने पहिलो बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू सभामुख तुलाराम घर्ती मगरले पढेर सुनाउने, विभिन्न दलका तर्फबाट सदस्यहरूले अधिवेशन प्रारम्भको अवसरमा शुभकामना मन्तव्य राख्ने सम्भावित कार्यसूची रहेको प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले बताउनुभयो । 

बर्षे अधिवेशनको रुपमा सुरु हुने छैठौं अधिवेशनले जेठ ४ गते लुम्बिनी प्रदेश सरकारको आगामी वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र असार १ गते बजेट प्रस्तुत गर्ने छ । 

सरकारले जेठ ४ गते धेरै पुरानै योजनालाई निरन्तरता दिने र केही मात्र नयाँ योजना थपेर आगामी वर्षको नीति तथा कार्यक्रम तयार गरिरहेको छ । 

स्रोतहरुका अनुसार हरेक वर्ष घाटा बजेट सार्वजनिक गर्दै आएको प्रदेश सरकारले आगामी वर्षका लागि भने नीतिमै हेरफेर गर्दै सन्तुलित र व्यवहारिक बजेट ल्याउने तयारी गरिरहेको छ । नीति तथा कार्यक्रम पनि त्यसलाई ध्यान दिएर ल्याउने तयारी सरकारको छ ।


प्रतिक्रिया