शान्ति सुरक्षा कमजोर बनाउने सम्झौता असम्भव : गृहमन्त्री लेखक

जेष्ठ १, २०८२ | विराटनगर
गृहमन्त्री रमेश लेखकले संविधान र लोकतन्त्रविरुद्धका कुनै पनि गतिविधिमा सरकार सम्झौता गर्न नसक्ने बताउनु भएको छ ।
कोशी प्रदेशको सुरक्षा गोष्ठीको बुधबार विराटनगरमा उद्घाटन गर्दै गृहमन्त्री लेखकले लोकतन्त्रको मूल्य, मान्यता र शान्ति सुरक्षासँग सम्झौता गर्न नसकिने स्पष्ट पार्नु भएको हो । ‘लोकतन्त्र अनुशासनको पद्धति हो, अराजकताको पद्धति होइन,’ उहाँले भन्नुभयो, ‘फलानो घरमा जन्मिएको आधारमा शासन गर्न पाइने समय अब सकिएको हो ।’
गृहमन्त्री लेखकले राज्यको पहिलो दायित्व नागरिकको जिउधनको सुरक्षा भएको उल्लेख गर्दै विपद् न्यूनीकरण, जोखिम पहिचान र तदारुकता पूर्वक कार्य गर्नुपर्ने खाँचो औंल्याउनुभयो । ‘शान्ति सुरक्षा सुनिश्चित भए मात्र विकास सम्भव हुन्छ,’ उहाँले भन्नुभयो, ‘संघीय लोकतान्त्रिक व्यवस्था मार्फत दिगो शान्ति र समृद्धिको यात्रामा पुग्न सकिन्छ ।’
गृहमन्त्री लेखकले हाल देशमा लागूऔषध, सवारी दुर्घटना, आत्महत्या र साइबर अपराधको त्रास बढिरहेको भन्दै यसप्रति सुरक्षा निकाय सजग र सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । ‘एक महिनाभित्र तस्करी नियन्त्रण भएको देखिनु पर्छ,’ उहाँले चेतावनी दिँदै भन्नुभयो, ‘तस्करी टुलुटुलु हेरेर बस्ने काम सह्य हुने छैन ।’
गृहमन्त्री लेखकले सेवा प्रवाहमा नागरिकलाई रिसाएर होइन, हाँसेर सेवा दिन आग्रह गर्नुभयो । ‘नागरिकले धेरै ठूलो अपेक्षा गरेका छैनन्,’ उहाँले भन्नुभयो, ‘निराशा भएर फर्किने अवस्था आउनुहुँदैन ।’
साइबर सुरक्षा नयाँ चुनौती : मुख्यमन्त्री कार्की
कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश विकास र सुशासनका लागि सुरक्षा अपरिहार्य शर्त भएको बताउनु भएको छ । ’समाज विकाससँगै लागूपदार्थ दुरुपयोग र साइबर अपराध नयाँ चुनौती बनेका छन्,’ मुख्यमन्त्री कार्कीले भन्नुभयो, ’जातीय र पहिचानका नाममा भएका केही घटनाले पनि सुरक्षा चुनौती बढाएका छन् ।’
कोशी प्रदेशको सुरक्षा गोष्ठीमा गृह सचिव गोकर्णमणि दवाडी, गृह मन्त्रालयका सहसचिव रामचन्द्र तिवारी, नेपाल प्रहरीका महानिरीक्षक दिपक थापा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुत्तराज थापा तथा नेपाली सेनाका उच्च अधिकारी सहित कोशीका १४ जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको सहभागिता छ ।