दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित गर्ने तयारी

जेष्ठ ४, २०८२ | काठमाडौं

सरकारले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८१ प्रतिनिधिसभाबाट पारित गर्ने तयारी गरेको छ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । 

बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहित राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि छलफल गरियोस् भन्ने’ प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । छलफलसँगै सो विधेयक पारित गर्ने सम्भावित कार्यसूची तय भएको संघीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

यस्तै, बैठकमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने’ प्रस्ताव पेस हुने कार्यसूची छ । 

यस्तै, ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गरिने छ । यी दुवै विधेयक संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ । 


प्रतिक्रिया