कांग्रेसद्वारा गृहमन्त्रीको बचाउ, भन्छः भिजिट भिसा प्रकरणमा लेखकको संलग्नता छैन

जेष्ठ १२, २०८२ | काठमाडौं
नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता नदेखिएको बताएको छ । कांग्रेसको पदाधिकारी बैठकले सामाजिक सञ्जालमा फैलाइएका अफवाहका भरमा गृहमन्त्रीले राजीनामा दिन नहुने निष्कर्ष समेत निकालेको छ । बैठकपछि कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै सो जानकारी दिनुभएको हो ।
महतले अध्यागमनमा भएको अख्तियारको छानबिन र त्यसपछिका सबै सन्दर्भलाई संसदभित्र गृहमन्त्रीले प्रष्ट पार्ने जानकारी दिनुभयो । नेता डा. शेखर कोइरालालगायतका केही नेताले कुरै नबुझी गृहमन्त्रीको राजीनामा माग गरेकोमा कांग्रेस बैठकमा आलोचना भएको महतले बताउनुभयो । गृहमन्त्रीले राजिनामा दिनु नपर्ने निष्कर्षमा पार्टी पुगेको प्रवक्ता महतको भनाइ छ ।
बैठकमा केही नेताले नामै लिएर डा. शेखर कोइराला, राजेन्द्र बजगाईँ र सुनिल शर्मालाई स्पष्टीकरण सोध्न नेतृत्वलाई आग्रह गरेका थिए । ती नेताले तीन नेताहरूलाई बोलाएर कुराकानी गर्न सभापति देउवालाई सुझाएको डा. शशांक कोइरालाले जानकारी दिनुभयो ।