संघीय संसदका दुवै सदनको बैठक बस्दै

जेष्ठ १४, २०८२ | काठमाडौं
संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । प्रतिपक्षी दलको विरोधका कारण हिजोको बैठक नियमित कार्यसूचीमा प्रवेश नै नगरी सूचना टाँसेर स्थगित गरिएको थियो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर विपक्षी दलले संसदभित्रै नाराबाजी गरेपछि प्रतिनिधिसभा बैठक अवरुद्ध बनेको थियो ।
भिजिट भिसाको आवरणमा मानव तस्करी सम्बन्धी अनुसन्धान निष्पक्ष रुपमा हुने वातावरण बनाउन गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने विपक्षी दलको माग छ । भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ ।
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट भोलि ल्याउँदै छ । आगामी आर्थिक वर्षको बजेट १५ जेठमा ल्याउनैपर्ने संवैधानिक प्रावधान छ । बजेटको मुखैमा संसद बैठक अवरुद्ध हुँदा सरकारले आर्थिक सर्वेक्षण पेस गर्ने तालिका समेत प्रभावित बनेको छ ।
प्रतिनिधिसभाको हिजोको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/०८२ को आर्थिक सर्वेेक्षण प्रस्तुत गर्ने कार्यक्रम थियो । तर, बैठक अवरुद्ध भएपछि आर्थिक सर्वेक्षण प्रस्तुत हुन सकेन । आजको बैठकमा अर्थमन्त्री पौडेलले आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने कार्यसूची छ ।
गृहमन्त्री लेखकको राजीनामा र भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनपछि मात्र संसद् चल्ने प्रतिपक्षीको अडान छ । यता सत्तारुढ नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसदको अवरोध हटाउन प्रतिपक्षी दलसँग छलफल भईरहेको बताउनुभयो । प्रतिपक्षीको अवरोध कायम रहेमा सरकारले विकल्प खोज्ने उहाँको भनाई छ ।
आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेस गर्ने कार्यसूची छ ।
यस्तै, माथिल्लो सदन राष्ट्रिय सभाको बैठक पनि दिउँसो सवा एक बजे बोलाइएको छ । राष्ट्रिय सभामा पनि प्रतिपक्षीको अवरोध कायम रहने सम्भावना छ । राष्ट्रिय सभामा पनि अर्थमन्त्री पौडेलले आर्थिक सर्वेक्षण गर्ने सम्भावित कार्यसूची छ ।