भिजिट भिसा प्रकरणः आफ्नो कुनै संलग्नता नभएको गृहमन्त्री लेखकको प्रष्टीकरण

जेष्ठ १४, २०८२
गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको प्रष्टीकरण दिनुभएको छ । विपक्षी दलहरुको अवरोधका कारण संसदमा कुरा राख्न नपाएका गृहमन्त्री लेखकले पत्रकार सम्मेलनमा आफू विरुद्ध नियोजित र षडयन्त्रमूलक ढंगले आक्रमण गरिएको बताउनुभयो ।
उहाँले आफूमाथिको आक्रमण राजनीतिक पूर्वाग्रह प्रेरित रहेको उल्लेख गर्नुभयो । गृृहमन्त्री लेखकले अध्यागमन कार्यालयमा सरुवा भएर गएका तीर्थराज भट्टराई आफूले कुनै मन्त्रालय वा विभागबाट ल्याएको कर्मचारी नभएको दाबी गर्नुभयो ।
पत्रकार सम्मेलनमा राजीनामा नदिने तर्फ इङगित गर्दै गृहमन्त्री लेखकले आफूले पनि न्याय पाउनु पर्ने बताउनुभयो ।
अख्तियार र नेपाल प्रहरीले अनुसन्धानमा परेका आफू अघिका गृहमन्त्रीहरुले राजीनामा नदिएको पनि उहाँले फेहरिस्त प्रस्तुत गर्नु भएको थियो । आधार र प्रमाण बिना विभिन्न खालका अफवाह फैलाइएको र छानविनलाई नै प्रभावित हुने खालका क्रियाकलाप भएको भन्दै उहाँले आपत्ति समेत जनाउनु भयो ।