विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक बस्दै नबसी भोलिसम्म स्थगित

जेष्ठ २०, २०८२ | काठमाडौं
विपक्षी दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजिनामा दिनुपर्ने अडान कायम राखेपछि संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक बस्दै नबसी भोलिसम्मका लागि स्थगित भएको छ ।
विपक्षी माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीसहितले गृहमन्त्रीको राजिनामा, भिजिट भिसा प्रकरणमा उच्चस्तरिय छानविन समिति गठन र प्रधानमन्त्रीको तर्फबाट संसदमा ती विषयमा प्रतिवद्धता व्यक्त गर्नुपर्ने तीन वटा सर्त अघि सारेका छन् । रास्वपाका सांसद मनिष झाले छानविन समिति बनाउनुपर्ने पक्षमा समेत आफूहरु रहेको बताउनुभयो ।
प्रतिनिधिसभामा बजेटमाथि छलफल गर्ने लगायत कार्यसूचि भएपनि दलहरुबीच सहमति हुन नसक्दा बैठक प्रभावित भएको हो । प्रतिनिधिसभाको बैठक भोलि दिउँसो १ बजे सम्मका लागि स्थगित गरिएको छ । सत्तारुढ दलहरुले भने गृहमन्त्रीले राजिनामा दिनुपर्ने मागमा सहमत हुन नसक्ने बताएका छन् । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले कर्मचारीमाथि अनुसन्धान हुँदा मन्त्रीले राजिनामा दिनुपर्ने माग उपयुक्त नभएको बताउनुभयो ।
विपक्षी दलले संसदमा जेठ १५ गते बजेट पेश गर्न दिएपनि त्यसपछि आफूहरुको माग पुरा नभएसम्म संसदमा अवरोध जारी राख्ने बताउँदै आएका छन् ।