पीडितलाई केन्द्रमा राखेर निष्कर्षमा लाने विषयमा सरकारले सहयोग गर्नेः प्रधानमन्त्री ओली

जेष्ठ २१, २०८२

प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायलाई पीडितलाई केन्द्रमा राखेर निष्कर्षमा लाने विषयमा सरकारले सहयोग गर्ने बताउनु भएको छ । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका नवनियुक्त पदाधिकारीको परिचयात्मक छलफलका क्रममा प्रधानमन्त्री ओलीले कुनै पनि काममा सरकारको दबाब र हस्तक्षेप नहुने स्पष्ट गर्नुभयो । कसैको दबाबमा नपर्न, स्वतन्त्र, निष्पक्ष र निडरताका साथ काम गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा आयोगका पदाधिकारीले आफूहरु नियुक्त भएपछि थप उजुरीका लागि सूचना प्रवाहलगायत थालिएका काम, देखिएका चुनौती, बजेट र पूर्वाधारका लागि सरकारसँगका अपेक्षाबारे प्रस्तुति गर्नुभएको थियो । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसिया, प्रधानमन्त्रीका मानव अधिकार तथा संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेल, महान्यायाधिवक्ता रमेश बडालसहित सहभागी छलफलमा सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष महेश थापा र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लीलादेवी गड्तौला, आयोगका सदस्यहरु र सचिवहरु सहभागी थिए । दुबै आयोगमा यही जेठ ४ गते पदाधिकारी नियुक्त भएका थिए ।


प्रतिक्रिया