तामाकोसी नदीमा निमार्णाधीन मोटरेवल पुल फेरि भाँचियो

असार ८, २०८२ | दोलखा
रामेछापको मन्थली नगरपालिका–६ कुनाउरी र वडा नम्बर–७ भटौली जोडने तामाकोसी नदीमा निमार्णाधीन मोटरवेल पुल फेरि भाँचिएको छ । निमार्णको क्रममा रहेको पुल बिहान भाँचिएको हो । निर्माण भईरहेको पुलको भटौलीतर्फको भागको स्लाब भाँचिएर तल खसेको छ । सो पुल यसअघि पनि बैशाख २६ गते भाँचिएको थियो ।
पुल निर्माणको जिम्मा लिएको कालिका–कल्पवृक्ष जेभीले यसअघि भाँचिएको पुलको पुनर्निर्माण गरिरहेको अवस्था पुनः भाँचिएको स्थानीयले बताए । मन्थली नगरपालिका–७मुगिटारका सुरक्षा श्रेष्ठले एक महिनाअघि भाँचिएको स्थानमा पुनर्निमार्णको क्रममा फेरि भाँचिएको बताईन् ।
२०७८÷७९ मा सडक विभाग अन्तर्गतको पुल महाशाखासँग निर्माण कम्पनीले २०८२ भदौ मसान्तसम्ममा काम सक्नेगरी २२ करोड ५५ लाख ४० हजारमा ठेक्का सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले पुल निमार्णको ६० प्रतिशत भुक्तानी लिईसकेको छ । एकै स्थानमा दोस्रो पटक पुल भाँचिएपछि स्थानीयले पुलको गुणस्तरमाथि प्रस्न उठाएका छन् ।