गाडी फसेपछि पूर्व पश्चिम राजमार्गको दाउन्ने खण्ड ठप्प

असार १५, २०८२ | नवलपरासी
भारी वर्षापछि सडकमा गाडी फसेपछि पूर्व पश्चिम राजमार्गको दाउन्ने खण्ड ठप्प भएको छ ।
पूर्वी नवलपरासीका प्रहरी उपरिक्षक यादव ढकालका अनुसार दाउन्ने सडक खण्डको विश्वकर्मा मन्दिर नजिकमा मालबहाक ट्रक फसेर राजमार्गमा यातायात पुरै बन्द भएको छ । प्रहरीले महेन्द्रराजमार्ग हुदै पूर्व पश्चिम हिडेका सबै गाडी दुम्कीवास र बर्दघाटमा रोकिदिएको छ । हिलो सुकेर सडक हिड्न मिल्ने नभएसम्म यो खण्डमा यातायात संचालन गर्न मुश्किल हुने ढकालले बताउनुभयो ।
यसैबीच बिहान दुम्कीवास स्थित बिनयी खोलाको डाइभर्सन बगाएका कारण ठुला गाडीको आवागमन ठप्प भएको छ । वैकल्पिक मार्गको सर्दीमा खरङ्गे खोलामा पानीको सतह बढेपछि यातायात सञ्चालनमा रोक लगाइएको छ ।
बुटवल–नारायणगढ सडक विस्तार क्रममा दाउन्नेमा काम भइरहेकाले सामान्य वर्षामा पनि सडक चिप्लो हुँदा यातायात अवरुद्ध हुँदै आएको छ । विनयी खोलाको पुल भासिएर डाइभर्सन बनाए पनि पटकपटक डाइभर्सन बगाउँदा सो सडकखण्डको यात्रा कष्टकर बनेको छ ।