पाँचथरमा अविरल वर्षा, बाढी-पहिरोले मुख्य सडक अवरुद्ध

श्रावण ४, २०८२ | पाँचथर
शनिबार साँझदेखि भइरहेको अविरल वर्षाका कारण पाँचथरलाई विभिन्न स्थानसँग जोड्ने मुख्य सडक अवरुद्ध भएका छन् । मेची राजमार्गको हेंवा खोलामा आएको बाढीले डाइभर्सनको तह पार गरेपछि यो राजमार्ग मध्यरातदेखि अवरुद्ध छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रुपेश तामाङका अनुसार डाइभर्सनको तह पार गरेर धमिलो पानी बगिरहेका कारण यातायात ठप्प भएको हो । यो खोलाको पुल पटक–पटकको बाढीले बगाएपछि तीन वर्षदेखि यहाँ डाइभर्सनको भरमा यातायात वारपार गराइँदै आएको छ ।
तमोर करिडोरमा पर्ने पाँचथर र धनकुटाको सिमावर्ती नावा खोलामा आएको बाढीका कारण सो सडक अवरुद्ध भएको छ । ठाउँठाउँमा खसेको पहिरोका कारण राँके–रवि–६ नम्बर बुधबारे हुँदै धनुटाको भेडेटार जोड्ने सडक पनि ठप्प भएको छ ।
यता मध्यपहाडी राजमार्गको पाँचथर खण्ड अन्तर्गत रिजाल भीरमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ भने दोभाने खोलाको डाइभर्सनमा पनि बाढीले क्षति पुर्याएको छ ।
उता पाँचथरकै फिदिमदेखि भारतसँगको सीमावर्ती फालौटलाई जोडने फिदिम याङनाम फालौट खण्डमा पर्ने फेमे खोला र मुवा खोलाका डाइभर्सन पनि बाढीले पुरेको छ । जसका कारण यी दुवै खोलाबाट सवारी वारपार गर्न सकिरहेका छैनन् ।
साँझदेखि जारी वर्षा बिहान पनि रोकिएको छैन । ठाउँठाउँमा आरिघोप्टे वर्षा भइरहेका कारण पहिरोको जोखिम यथावत् रहेकाले जिल्ला प्रशासन कार्यालयले सचेत रहन सर्वसाधारणलाई आहृवान गरेको छ ।