रुपन्देही–३ को उपनिर्वाचन : असोज २१ गते मनोनयन दर्ता

श्रावण ५, २०८२ | बुटवल

रुपन्देहीको निर्वाचन क्षेत्र नं. ३ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि आयोगले असोज २१ गते मनोनयद दर्ताको दिन तोकेको छ । 

आयोगले आइतबार सार्वजनिक गरेको उपनिर्वाचन कार्यक्रम अनुसार असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ । सोही दिन उम्मेदवारहरुको प्रारम्भिक नामावली प्रकाशन हुनेछ । असोज २२ गते उम्मेदवार माथिेको उजुरी र असोज २४ गते अन्तिम नामावली प्रकाशन र कात्तिक १७ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने उल्लेख छ ।

उम्मेदवार माथिको उजुरीका लागि आयोगले असोज २२ गते विहान १० बजेदेखि ३ बजेसम्मको समय तोकेको छ । उजुरी उपर जाँचबुझ तथा मनोनयन पत्रको निर्णय असोज २२ गते ३ बजेदेखि असोज २३ गते बेलुका ५ बजेसम्मको समय उपलब्ध गराएको छ । सोही दिन उम्मेदवारहरुको नामावली प्रकाशन हुनेछ ।

उम्मेदवारले नाम फिर्ता लिन चाहेको अवस्थामा असोज २४ गते विहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय निर्धारण गरेको छ । सोही दिन ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर बेलुका ३ बजेपछि निर्वाचन चिन्ह प्रदान गर्ने र कात्तिक १७ गते विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने कार्यतालिका आयोगले सार्वजनिक गरेको हो ।

यस उपनिर्वाचनमा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ अन्तर्गत समानुपातिक प्रणालीतर्फको बन्दसूचीमा नाम समावेश भएका व्यक्ति उम्मेदवार बन्न नपाउने कानूनी प्रावधान रहेको जानकारी समेत निर्वाचन आयोगले जनाएको छ । प्रचार प्रसार निषेध अवधि मतदान सुरु हुनुभन्दा ४८ घण्टा अगाडि अर्थात् २०८२ कार्तिक १४ गते राति १२ बजेसम्म तोकिएको छ । सबै मतदान केन्द्रमा मतदान भएका सबै मतपेटिका मतदान अधिकृतबाट निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भए पश्चात मतगणना कार्य सुरु गरिने आयोगले जनाएको छ ।

रुपन्देही–३ मा राप्रपाका दीपक बोहोराको क्यान्सरका कारण निधन भएपछि उक्त निर्वाचन क्षेत्र खाली भएको छ । उक्त निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्क्र व्यत्तिहरुले उम्मेदवारी घोषणा गर्ने र उम्मेदवार छनोट गर्ने तयारीमा लागेका छन् । 

राप्रपाले दीपक बोहोराका छोरा प्रज्वल र गौरव बोहोरा एवं नातिनी स्वाती थापालाई प्राथमिकतामा राखेर ६ जनाको नाम सिफारिस गरेको छ । त्यस्तै भारतसँगको सिमाना जोडिएको तराई क्षेत्र पर्ने भएकाले मधेशवादी दलहरुले साझा उम्मेदवार उठाउने प्रयासमा छन् । कांग्रेस एमालले छुट्टाछुट्टै उम्मेदवारी दिने कि सत्ता गठबन्धन अनुसार एउटा मात्र उम्मेदवार उठाउने भन्ने टुंगो गर्न सकेका छैनन् । 

कांग्रेसबाट बालकृष्ण खाँणसहित प्रमोद यादव र भरत शाहको चर्चा छ । एमालेबाट खिमानन्द भट्टराई, भरत पोखरेल, हरी अधिकारी लगायतको नाम चर्चामा छ । काठमाडौंका मेयर बालेन साहको तर्फबाट उनकै सचिवालयका सदस्य सन्तोष गिरीले प्रचारप्रसार सुरु गरिसकेका छन् । रास्वपाले पनि अहिलेसम्म उम्मेदवार छनोट गर्न सकेको छैन । 


प्रतिक्रिया